
काठमाडौं महानगरपालिकाले मंगलवार आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ । कामपाले आफ्नो २८औँ महानगर दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलवार बिहान सामुदायिक विद्यालयको सरसफाइ गरेको हो ।
कार्यक्रममा कामपाले विद्यालयलाई नियमित रुपमा सफा राख्न सफाइ उपकरण उपलब्ध गराएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । विद्यालय सफा गर्न अभिभावक, शिक्षक र जनप्रतिनिधिको सहभागिता थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कामपाले नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला÷निबन्ध र वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छ ।
कार्यक्रमको विशेष दिन अर्थात् यही मंसिर २९ गते विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरूको सम्मान, स्वस्थ्य शिविर सञ्चालन र विभिन्न विधाका लागि सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको छ । दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मंसिर २८ गते बिहान उद्घाटन गरिनेछ ।
विसं २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मंसिर २९ लाई महानगर दिवसका रूपमा मनाउने गरिएको हो । विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको हो । रासस