आर्थिक संकट तथा कीर्तिमान महंगीका कारण तनावमा रहेको टुर्किये (टर्की) ले अर्बौं डलर बराबरको कालो सुन फेला पारेको छ ।
टुर्कियेका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले १५ करोड ब्यारल तेलको विशाल भण्डार फेला परेको घोषणा गरेका छन् । यस कच्चा तेलको मूल्य लगभग १२ अर्ब डलर हुन सक्ने आकलन छ ।
दक्षिणपूर्वमा रहेको पहाड गबरमा कच्चा तेलको भण्डार फेला परेको हो ।
टुर्कियेको भूमिमा तेल खोज्नका लागि उत्खनन गतिविधि थप तीव्र बनाइने एर्दोआनको भनाइ छ ।
प्रतिदिन एक लाख ब्यारल तेल उत्खनन गर्ने टुर्कियेको योजना छ । त्यसका लागि उसले भूगर्भीय जाँच, कुवाको खनाइ र उत्पादन बढाउने उपायमा जोड दिइरहेको छ ।
यसअघि सन् २०२० मा टुर्कियेले सुनको विशाल भण्डार फेला पारेको थियो । त्यसको तौल ९९ टन थियो भने मूल्य ६ अर्ब डलर थियो ।
पश्चिममा रहेको सोगुटमा सुनखानी फेला परेको हो । आगामी पाँच वर्षमा प्रतिवर्ष १०० टन सुन उत्पादन गर्ने टुर्कियेको लक्ष्य छ ।
भूमध्यसागरबाट तेल र ग्यास दोहन गर्ने विषयमा ग्रीससँग गम्भीर विवाद चलिरहेको बेलामा टुर्कियेले आफ्नो भूमिमा तेल र सुन फेला पारेको हो । यस खोजले टुर्कियेको अर्थतन्त्रलाई फाइदा पुग्ने बताइएको छ ।