
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं २ बाट प्रतिष्पर्धा गरेकी कुन्तीदेवी पोखरेलले साँखु–थली सडक निर्माणको काममा राजनीतिक दलहरूले पूर्वाग्रह देखाएको गुनासो गरेकी छन् । वर्षादेखि अलपत्र सडक निर्माणका लागि नागरिकस्तरमा भएको विरोधको नेतृत्व पोखरेलले गरेकी थिइन् ।
पोखरेलसमेत सडकमा आएपछि साँखु–थली सडक निर्माणको कामले गति लिएको थियो । कालोपत्रेको काम शुरु भएपछि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी कुन्तीले विकास निर्माणमा अवरोध गरेको आरोप लगाएका थिए ।
‘विगत सात आठ वर्षयता चावहिल साखु सडकखण्डमा स्थानीयले पाएको सास्तीको महसुस कसले गर्ने हो ?’, शुक्रवार एक विज्ञप्ति जारी गर्दै पोखरेलले भनेकी छन्, ‘मेरो नेतृत्वमा दबाब सिर्जना गर्नुअघि पटक–पटक स्थानीयले गरेको आन्दोलनको बेवास्ता किन गरिएको थियो ?’
काठमाडौं २ की समाजसेवी पोखरेलले सडक छिटो सम्पन्न गर्न आन्दोलनको नेतृत्व गरेको विषयमा स्थानीयले भने खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले गरेको कामको प्रशंसा भइरहेको छ ।
हेर्नुहोस् कुन्तिको विज्ञप्ति
