
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानवापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रवार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको हो । आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
अघिल्लोपटक ३ महिनामा एक पटक गणना गरिएकोमा यस पटक दान पात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना शुरु गरिएको हो । गत असोज ३० गते गरिएको भेटी गणनामा २७ लाख १८ हजार दानवापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ ।
अहिले लुम्बिनी भ्रमणको सिजनसमेत शुरु भएकाले छिमेकी देश भारतसहित थाइल्याण्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनार्थी आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक अर्थात् नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् ।
यस्तै, नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । नोभेम्बर महिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्यांकमा उल्लेख छ । भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।