
पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले रामनगरस्थित बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको शुक्रबार अवलोकन गरेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पौडेलकै पहल र योजनामा भइरहेको प्रदर्शनी केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ।
प्रदर्शनी केन्द्रको अवलोकन गर्दै नेता पौडेलले प्रदर्शनी केन्द्रको निर्माणपछि वर्षेनी खुला आकाशमुनी प्रदर्शनी आयोजना गर्नुपर्ने उद्योगी व्यवसायीहरुको वाध्यता हट्ने अपेक्षा गरिएको बताए।
रुपन्देहीका उद्योगी ब्यवसायीहरुको चासो र सक्रियताका कारण प्रदर्शनीस्थलको निर्माण सम्भव भएको उनले बताए। पौडेलले प्रदर्शनीस्थलमा जस्तै अरु पूर्वाधारको निर्माणमा जनचासो आवश्यक रहेको समेत बताए ।
एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ भने सोही प्रर्दशनी स्थलमा रुपन्देही उद्योग संघले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दै छ।
आगामी पुष ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदर्शनीको उद्घाटन गर्ने बताइएको छ। ६ दशमलव ४ बिघा क्षेत्रफलमा सहरी विकास मन्त्रालय मार्फत् निर्माणाधीन प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र भएको दावी गरिएको छ।