
संयुक्त राष्ट्र संघको आह्वानमा छ हजार भन्दा बढी नेपाली सैनिक शान्ति मिशनमा तैनाथ रहेका छन् । इतिहास मै पहिलो पटक छ हजार भन्दा बढी नेपाली सेनाका फौजहरु शान्ति मिशनमा तैनाथ भई एक ऐतिहासिक कोसेढुङ्गा कायम भएको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
MINUSCA मिशन Central African Republic मा मंसिर २७ गते Light Infantry Battalion को अन्तिम डफ्फामा रहेका २०२ जना शान्ति सैनिकहरुको तैनाथीसँगै शान्ति मिशनहरुमा नेपाली सेनाको तैनाथी संख्या ६०१६ पुगेको हो ।
सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरे पश्चात सन् १९५८ मा ५ जना Military Observer हरु UNOGIL मिशन लेवनानमा तैनाथ गरेसँगै नेपाली सेनाको शान्ति मिशनको सुरु भएको थियो ।
हालसम्म नेपाली सेनाले ४४ वटा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा सहभागिता जनाइसकेको छ । यस क्रममा सेनाका १ लाख ४२ हजार ५८५ जना सकलदर्जाहरु शान्ति मिशनमा सहभागी भएका छन् । जसमा १९८२ जना महिला सैनिकहरु समेत समावेश रहेका रहेकाे सेनाले जनाएको छ। विश्व शान्ति स्थापनाको क्रममा हालसम्म ७१ जना नेपाली शान्ति सैनिकहरुले ज्यान गुमाउनुका साथै ६८ जना घाईते भएका छन् ।
हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रहरुको मर्यादाक्रममा नेपाल तेस्रो स्थानमा रहेको छ भने विभिन्न १२ वटा शान्ति मिशनहरुमा नेपाली सेनाका ६०१६ जना सकलदर्जाहरु (४२९ महिला सहित) सहभागी भइरहेका छन् ।