
नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी तालिम दिन लागेको हो ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको छ । तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यावसायिक वृद्धिका लागि फलदायी हुने विश्वास गरे ।
सूचना प्रविधिको विकास तिब्र गतिमा अघि बढीरहेको भन्दै उनल उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको बताइन् । विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकासमा राज्यले पनि प्राथमिकतामा दिनुपर्ने उनको भनाइ छ ।
तालिममा सहभागी इच्छुक उद्यमी महिला छनोटका लागि स्वतन्त्र किमिटी समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रवर्धन, वेबसाईट डिजाइन लगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिइन् । तालिमसम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुने बताइएको छ ।