
नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि आज शनिबार छलफल हुँदैछ । निर्वाचनको मिति नजिकिँदै गएपछि सो छलफल हुन लागेको हो । संघको अध्यक्षदेखि सदस्यसम्मका लागि उम्मेदवारी दर्ता गर्ने दिन सोमबारलाई तोकिएको छ। निर्वाचनमा प्रजातान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रगतिशील समूह तर्फबाट अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा छ। अध्यक्षमा डा. जागेश्वर गौतम, डा. सन्तोष पौडेल र डा. रक्षा श्रेष्ठको नाम चर्चामा रहेको छ। त्यस्तै, महासचिवका लागि डा. लिजन महर्जन र डा. कालुसिंह खत्रीको इच्छा देखिएको छ ।
प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका लागि डा. भुपेन्द्र बस्नेत, डा. अनिल कार्की र डा. बद्री रिजालको नाम चर्चामा सुनिएको छ। सोहीअनुसार महासचिव पदका लागि डा. सन्जिव तिवारी, डा. प्रकाश बुढाथोकी र डा. विश्वराज दवाडीको इच्छा देखिएको एक सदस्यले जानकारी दिए ।
निर्वाचन कार्यतालिका अनुसार आगामी माघ ६ र ७ गते उपत्यका बाहिर निर्वाचन हुनेछ भने माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने संघले जनाएको छ । संघले शनिबार अन्तिम मतदाताको टुंगो लगाउने भएको छ । त्यसकालागि शुक्रबारसम्म नामावली पठाउन परिपत्र गरेको थियो ।
संघमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सहकोषाध्यक्ष १, सदस्य ६ जना गरी १९ जनाको कार्यसमिति रहने गरेको संघले जनाएको छ ।