२५ असार २०८३, बिहीबार

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रतिवेदन पेश, ३३ राजनीतिक दलको धरौटी जफत

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रतिवेदन पेश, ३३ राजनीतिक दलको धरौटी जफत

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रदेश सभामा निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेश गरेको छ । 

प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार आयोगका सचिव गोकर्णमणि दवाडीले आज (शनिवार) निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई हस्तातरण गरेका हुन् । आयोगको प्रतिवेदन अनुसार मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित ६६ जना र समानुपातिकतर्फ ४४ जना गरी कुल ११० जना सदस्यहरु निर्वाचित भएका छन् । बागमती प्रदेशको प्रदेशसभातर्फ ११० जना निर्वाचित सदस्यमध्ये पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार बागमती प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रत्यक्षतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो । 

प्रदेशसभा निर्वाचनमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम रहेका थिए ।  प्रत्यक्ष तर्फ २१ लाख ४ हजार ५७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएकोमा ७६ हजार ९३८ (३ दशमलव ६६) प्रतिशत मत बदर भएको थियो ।

त्यस्तै समानुपातिक निर्वाचनमा २० लाख ९९ हजार १०७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएकोमा १ लाख २५ हजार ६३३ (५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो ।  प्रदेश सभा निर्वाचन ऐन, २०७४  अनुसार समानुपातिक निर्वाचन प्रर्णाली अन्तर्गतको निर्वाचनमा कुनै पनि  राजनीतिक दलको कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था बमोजिम प्रदेश सभातर्फ बन्दसूची पेशगर्ने प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको प्रतिवेदनमा उल्लेख छ । 

प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४१७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४८४ जनाको धरौटी जफत भएको छ । योसँगै प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी गरी प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको समेत आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्