१२ साउन २०८३, मंगलबार

गण्डकीमा सत्ता समीकरणको जोड घटाउ शुरु

गण्डकीमा सत्ता समीकरणको जोड घटाउ शुरु

गण्डकी प्रदेशमा सरकार निर्माणको समीकरणका लागि दलहरूले आन्तरिक तयारी शुरु गरेका छन् । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणामसहितको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएसँगै अबको सत्ता समीकरण के हुने भन्ने विषयको चर्चा चुलिएको हो । 

निर्वाचन मतपरिणाम अनुसार गण्डकीमा पाँच दलको प्रतिनिधित्व हुनेछ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)को प्रतिनिधित्व हुने भएको छ ।

कुल ६० सदस्यीय प्रदेशसभामा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिकबाट निर्वाचित बनेका छन् । गण्डकीमा नेपाली कांग्रेसबाट २७, एमालेबाट २२, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई र एकीकृत समाजवादीबाट एकजना प्रतिनिधित्व छ ।

नेकपा (एकीकृत समाजवादी)ले निर्वाचनमा प्रत्यक्ष एवम् समानुपातिकतर्फ कुनै पनि सिट नजिते पनि निर्वाचनपछि मनाङबाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) पार्टीमा प्रवेश गरेका छन् । 

सरकार गठनका लागि बहुमत पुर्‍याउन ३१ सदस्य आवश्यक भए पनि कुनै पनि दलसँग बहुमत संख्या नपुग्दा दलहरू बीचको सम्भाव्य समीकरणलाई महत्वका साथ हेरिएको छ ।

संविधानको धारा, १६८ मा प्रदेश मन्त्रिपरिषद् गठनको व्यवस्था छ । उक्त धाराको उपधारा १ ले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त हुने व्यवस्था गरेको छ । तर उक्त धाराअनुसार गण्डकीमा कुनै पनि दलले बहुमत नल्याएका कारण सरकार बन्ने देखिँदैन ।

संविधानको धारा, १६८ को उपधारा, २ मा कुनै पनि दलको प्रस्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ । अहिले राजनीतिक दलहरु सोही धाराअनुसार गण्डकीमा सरकार गठनको कसरतमा लागेका छन् । 

त्यसअघि दलहरू पार्टीभित्र संसदीय दलको नेता चयन गर्ने तयारीमा जुटेका छन् । जसमा पहिलो सम्भावनाका रुपमा निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको सरकार बन्ने अनुमान गरिएको छ ।

नेपाली कांग्रेसका २७ र माओवादीका आठ र एकीकृत समाजवादीको एक गर्दा ३६ जना हुने भएकाले स्पष्ट बहुमत पुग्ने देखिन्छ । यसका लागि गठबन्धनमा रहेका दलको केन्द्रमा हुने समीकरण यतिखेर पर्खाइमा छ ।

सरकार गठनको अर्काे विकल्पका रुपमा नेकपा एमाले र माओवादीसहितको वाम गठबन्धन पनि यतिखेर चर्चामा छ । यस विकल्पमा २२ सदस्य रहेको एमाले, आठ सदस्य रहेको माओवादी र एक सदस्य रहेको एकीकृत समाजवादी मिल्दा ३१ सदस्य पुग्छ । यस विकल्पमा एक जनालाई सभामुख बनाउँदा ३० सदस्य रहने भएकाले सुविधाजनक बहुमतका लागि राप्रपाको पनि साथ आवश्यक देखिन्छ । सरकारको स्थिरताका लागि कांग्रेस र एमाले बीचको समीकरणको विकल्प पनि यतिखेर उत्तिकै चर्चामा छ । 

मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता बन्नुपर्ने भएकाले मुख्यतः दलका सांसदको ध्यान त्यतातिर देखिन्छ । नेपाली कांग्रेसबाट संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे, महेन्द्रध्वज जिसी, विन्दुकुमार थापा, भोजराज अर्याललगायतको चर्चा छ । नेकपा एमालेबाट खगराज अधिकारी र माओवादी केन्द्रमा हरिबहादुर चुमानको नाम नै मुख्य रुपमा अघि आएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्