चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ ।
भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको २ चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । जिल्लाका ३ ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिएको छ ।
मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेसनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणका इन्जिनीयर सागर ज्ञवालीले जानकारी दिए ।
यी २ स्टेसन करीब ९० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । २ वटा स्टेसनमा एकपटकमा ६ वटासम्म गाडी चार्ज गर्न मिल्छ । आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेसन निर्माण गरिएको इन्जिनीयर ज्ञवालीले बताए ।
बसपार्कमा २ वटा फरक टेक्नोलोजी सीसीएच र जीबीटीका चार्जर स्टेसन निर्माण गरिएको चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दीगोका प्रोजेक्ट म्यानेजर शिव अधिकारीले जानकारी दिए । उनका अनुसार साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ ।
चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ । यसबाट ठूला बससहित ३ वटा सवारीसाधनले एकसाथ चार्ज गर्न सक्नेछन् ।
सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेसनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ । कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि गाडी थप चार्ज हुँदैन । बिहान ५ देखि साँझ ५ बजेसम्म ८ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म ९ रुपैयाँ ६ पैसा चार्ज शुल्क तोकिएको अधिकारीले जानकारी दिए ।