०१ असार २०८३, सोमबार
सफल व्यावसायिक पृष्ठभूमिबाट माननीय

तीन दशकअघिका विद्रोही : एक माननीयको कथा

पुस ३, २०७९
तीन दशकअघिका विद्रोही : एक माननीयको कथा

(झण्डै साढे २ दशकदेखि राजनीति, द्वन्द्व, सामाजिक मामिला र खोज रिपोर्टिङमा सक्रिय उजिर मगरले लोकान्तर डट्कम (Lokantar.com) मा स्तम्भ लेख्न शुरू गरेका छन् । नेपाल पत्रकार महास‌ंघका पूर्व महासचिव समेत रहेका मगरले लोकान्तरका लागि राजनीतिसँगै सामाजिक विषयवस्तुमा अब नियमित स्तम्भ लेख्नेछन् । पहिलो स्तम्भ उनले नेकपा एमालेबाट नवनिर्वाचित सांसद देवीप्रसाद भट्टचनका बारेमा लेखेका छन् ।)

'मामाविरुद्ध २०४८ को त्यो राजनीतिक विद्रोह'
चुनावका लागि विद्यालय बन्द भयो । घर पुग्दा गाउँ पूरै ‘मसालमय’ बनिसकेको रहेछ । कोही पनि चुनावमा भोट हाल्न नजाने उर्दी थियो ।​ घरघरका पाली, भित्ता र चौतारामा गोरो अनुहार भएको, दुवै हात जोडेर नमस्कार गरेको, थाईकट कपाल लरक्क पारेको फोटोसहितका रङ्गीन पोस्टरहरू टाँसिएको थियो । पोस्टरमा लेखिएको थियो, ‘आगामी संसदीय चुनावमा ‘भाले चिह्न’मा मतदान गरौं । स्वतन्त्र कर्मठ उम्मेदवार देवीप्रसाद भट्टचनलाई विजयी गराऔं ।’त्यसको छेउमा एक वर्षको तिथिमिति छापिएको क्यालेन्डर थियो । क्यालेन्डरसमेत भएको रङ्गीन पोस्टर मैले पहिलोपटक देखेको थिएँ । त्यतिञ्जेल मैले दुई कलरका केही किताब मात्रै देखेको थिएँ । त्यसबाहेक चिनियाँ सरकारले दिने पत्रिका रङ्गीन हुन्थे जुन हामी किताबमा गाता हाल्न किन्थ्यौं । त्यो पनि सजिलै पाइन्नथ्यो । भट्टचनको रङ्गीन पोस्टर गोबरले टाँसिएको थियो । त्यसको कलरले मलाई लोभ्यायो र किताबमा गाता हाल्न चाहिन्छ भनेर धेरै ठाउँबाट जतन साथ उप्काएर राखें ।
 
– उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’बाट साभार ।

माथि उल्लेखित दृश्य २०४८ को आमचुनावको हो । २०४६ सालमा राजनीतिक परिवर्तन आएपछि २०४८ मा आमचुनाव घोषणा भयो । देवीप्रसाद भट्टचन भर्खर २९ वर्षका थिए । राजनीतिक परिवारमा हुर्के/बढेका भट्टचन विचारले प्रजातान्त्रिक धारमा थिए । उनलाई एउटै चासो थियो, ‘हाम्रो क्षेत्रमा किन जहिल्यै बागलुङ पूर्व तथा दक्षिणबाट नेता बन्छन् ? पश्चिमबाट किन बन्दैनन् ?’ यसैको परिणाम थियो त्यसबेलाको विद्रोह । विद्रोह पनि उनले आफ्नै मामाविरुद्ध गरेका थिए ।

उनका मामा ओमकारप्रसाद गौचन राजनीतिका ‘भेट्रान’ खेलाडी थिए । संयोग कस्तो पर्‍यो भने कांग्रेसबाट टिकट पाएका रामप्रसाद आचार्य दोहोरो नागरिकताको मुद्दामा फसे । विकल्पमा थिए, भट्टचन । तर, बागलुङ बजारका पुराना राजनीतिज्ञ अर्थात् आफ्नै मामा ओमकारप्रसाद गौचन उनका लागि तगारो बनिदिए ।

आचार्यको उम्मेदवारी खारेजीसँगै कांग्रेसको ‘रुख’ चिह्न पनि गयो । कांग्रेसले विकल्पमा गौचनलाई रोज्यो । हैसियत स्वतन्त्र तर, कांग्रेसको औपचारिक समर्थनमा गौचन ‘भर्‍याङ’ चिह्न लिएर चुनावी मैदानमा आए । 

आफ्नै (पश्चिम) क्षेत्रबाट प्रतिनिधि चुनिनुपर्छ भन्ने विद्रोही चेत पलाइसकेकाले भट्टचन पछाडि हट्ने मनस्थितिमा थिएनन् । ‘भाले’ चिह्न लिएर मामाविरुद्ध स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिए । त्यस क्षेत्रमा प्रभाव रहेको नेकपा (मसाल)ले २०४८ मा राष्ट्रव्यापी चुनाव बहिष्कार गरेको थियो । प्रतिस्पर्धा मामासँगै भयो । गौचन विजयी भए । उनी पछि गएर वन राज्यमन्त्री समेत बने ।

***

ती दिन पुराना भए । ३ दशक नाघिसक्यो । गएको असोज १५ सम्म भट्टचनको नाम कांग्रेसले समानुपातिकका लागि सिफारिश गरेका व्यक्तिहरूको सूचीमा थियो । तर, उनको मनले मानेन । कांग्रेस सभापति शेरबहादुर देउवासँग सरसल्लाह गरे ।

तर, देउवाले सकारात्मक कुरा गरेनन् । ‘प्रत्यक्षतर्फ सम्भव छैन । समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरमा पनि १ वा २ नम्बरमा राख्न सकिन्न,’ देउवाले त्यतिबेला भनेको कुरा उद्धृत गर्दै भट्टचनले स्तम्भकारसँग भने ।

त्यसपछि हो उनले आफूले दशकौंदेखि माया गरेको र आफूले साथ तथा सहयोग गर्दै आएको पार्टीबाट विद्रोह गरेको । 

आफ्नो पुर्ख्यौली घरअगाडि भट्टचन

नयाँ बाटोबाट राजनीतिक यात्रा थालेपछि कात्तिक अन्तिम साता आफ्नो जन्म गाउँ तमानखोलाको लामेलास्थित पुर्ख्यौली घरछेउमा उभिएर भट्टचनले आफन्तहरूसँग भने, ‘मैले जुन पार्टीलाई जीवनभर माया गरें, त्यो माया एकोहोरो रहेछ । उसले मलाई माया गरेन । कम्तीमा एमालेले मलाई माया गरेर आदिवासी जनजाति क्लस्टरमा १ नम्बर सूचीमा राखेको छ । आभारी छु । मैले यो गुण कहिल्यै बिर्सिने छैन ।’

वंशमै राजनीति : तीन दशकपछि ‘कम्ब्याक’

२०७४ मा नै एमालेले उनलाई चुनाव लड्नका लागि प्रस्ताव गरेको थियो । तर, उनले मानेनन् । कांग्रेसले समानुपातिक सूचीमा राख्यो । तर, सांसद बन्ने कोटामा उनी पर्न सकेनन् । तर अहिले एमालेले ३४ जना समानुपातिक सांसद छान्दा उनी परेका छन् । आइतवार निर्वाचन आयोगबाट प्रमाणपत्र बुझेपछि प्रभु ग्रुपका अध्यक्षसँगै उनी अब माननीय भएका छन् ।

संसार घुमफिर गरेका छन्, विकास, आर्थिक फड्को, आत्मस्वाधिनताबारे गहिरो ज्ञान राख्छन्, भट्टचन । 

यही सेरोफेरोमा उनले भने, ‘२०५४ सम्म राजनीतिमै थिएँ । त्यसयता व्यवसाय शुरू गरें । अहिले प्रभु ग्रुप नाम नसुन्ने कुनै पालिका बाँकी छैन । संसार घुमें । अन्ततः परिवर्तन राजनीतिबाटै हुन्छ भन्नेमा ढुक्क छु । त्यही भएर ३० वर्षपछि राजनीतिमै फर्किएँ । एमाले अध्यक्ष केपी ओलीज्यूले अगाडि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न लागि पर्नेछु ।’

बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ४८ वटै वडाको राम्रो ज्ञान भएका भट्टचन सफल व्यवसायी हुन् । प्रभु बैंक अधिकांश पालिकामा पुगेको छ । सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वितरणमा गाउँ–गाउँ, टोल–टोलमा प्रभुका मान्छे भनेर जनताले चिन्छन् । समाजसेवा उनको पुर्ख्यौली परम्परा हो ।

बुवा बालनरसिंह भट्टचनलाई त्यस क्षेत्रमा नचिन्ने कमै होलान् । तमानखोलाको लाम्मेलामा २०१९ सालमा जन्मेका देवी बुवाकै राजनीतिक यात्राको उत्तराधिकारी हुन् भन्दा फरक पर्दैन ।

बालनरसिंहले तमानखोलामा ४ कार्यकाल प्रधानपञ्च निर्विरोध चलाए । २०४९ को स्थानीय तह चुनावमा देवी कांग्रेसबाट निर्विरोध गाविस उपाध्यक्ष बने ।

जिल्ला विकास समितिको क्षेत्रीय सदस्य समेत निर्विरोध बनेर २०५४ सम्म जनताको सेवामै रहे ।

म्याग्दीसँग सीमा जोडिएको शोले धुरीको तल लाम्मेलाबाट उदाएका देवी यतिखेर विशाल सञ्जाल रहेको प्रभु ग्रुपका अध्यक्ष हुन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो व्यवसायको सञ्जाल विस्तार गरेका एक उद्योगी पनि हुन् । मुलुकको अर्थतन्त्रबारे गहिरो जानकारी राख्ने भट्टचन राष्ट्रपतिबाट सुप्रबल जनसेवा श्री, सुकीर्तिमय राष्ट्रद्वीप पदकबाट विभूषित भइसकेका छन् । 

तीन दशकमा तमानखोला, भुजीखोला, निशीखोला, बडीगाड र दरमखोलामा धेरै पानी बग्यो । त्यस क्षेत्रको संयोग वा राजनीतिक दाउपेच, बागलुङ पश्चिम सधैँ घरेलु उपनिवेशमा परिरहेकोमा उनलाई गहिरो पीडाबोध थियो ।

पञ्चायतकालमा ओमकारप्रसाद गौचन, २०५१ र ०५६ मा दुई कार्यकाल जनमोर्चा र एमालेको तालमेलबाट परि थापा, अघिल्लोपटक एमाले र हाल कांग्रेससँगको सहकार्यमा देवेन्द्र पौडेल (बहालवाला शिक्षामन्त्री) सांसद बने । पार्टीको निर्देशनबमोजिम त्यस क्षेत्रका जनताले मत दिइरहेका छन् । अहिले उही प्रवृत्ति दोहोरिँदै गठबन्धनबाट पौडेल पुनः प्रतिनिधिसभा सदस्य बनेका छन् । 

बागलुङ क्षेत्र नं. २ बाटै प्रतिनिधित्व गर्ने गरी भट्टचन समानुपातिक सांसद बनेका छन् । ३० वर्षअघिका ती ‘विद्रोही युवा’ ५९ वर्षको उमेरमा सफल व्यावसायिक पृष्ठभूमि बोकेर राजनीतिमा उदाएका छन् ।

एमाले अध्यक्ष ओलीसँग भट्टचन

‘अन्तरआत्माबाट निर्णय लिने गर्छु ’

ओशो अर्थात् रजनिश । विख्यात धर्मगुरु एवं महान् दार्शनिक । उनकै भक्त हुन्, देवी । उनले खोल्न चाहेनन्, तर कर्पोरटको नाम ‘प्रभु’ राख्नुमा कतै न कतै ओशो रजनिशको प्रभाव झल्किन्छ । रंगमा पनि त्यसको प्रभाव छ । जीवन जगतको बुझाई, प्रेमको व्याख्या र दर्शनमा ओशो रजनिशको दृष्टिकोण परसम्म फैलिएको छ । 

उनै ओशो रजनिशको एउटा भनाइ सम्झन्छन् देवी– ‘कसैसँग कुनै प्रकारको प्रतिस्पर्धा आवश्यक छैन । तपाईं स्वयं जस्तो हुनुहुन्छ, त्यो एकदम सही छ । स्वयंलाई स्वीकार्नुहोस् ।’

ओशो रजनिशका यस्तै मननयोग्य भनाइमा उनी अन्तरमनको शून्यताबाट आफू जन्मेको माटोलाई पटक–पटक सम्झिन्छन् । तमान, निसी, भुजीखोलामा उनलाई नचिन्ने कमै छन् । प्रौढदेखि युवासम्मले उनीप्रति देखाएको मायाले गज्जबकै थिया, कात्तिक अन्तिम साता त्यहाँ पुग्दा । 

कसैको उक्साहटमा, स्वार्थका लागि आफू एमालेबाट समानुपातिकमा नपरेको उनी सुनाउँछन् ।

‘धेरैले पैसाको भरमा, स्वार्थका लागि एमालेमा गयो भन्ने प्रश्न उठाए । पैसाले राजनीति हुने भए त कांग्रेसले नै गर्ने थियो होला नि ! मेरो योगदानलाई एमालेले कदर गर्‍यो, कुरा यत्ति हो’, भट्टचनले भने, ‘म आफ्नो माटोलाई सम्मान गर्ने मान्छे हुँ । मलाई नपुग्दो केही छैन । म एक ध्यानी अर्थात् ध्यान गर्ने मान्छे हुँ । अन्तरआत्मामा जे आउँछ, त्यसैका आधारमा मेरो निर्णय मै गर्छु । कसैको उक्साहट, लोभ र स्वार्थसँग जोडिने प्रश्नै हुँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्