
तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलो पटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ ।
आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग गर्न लागिएको हो । वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा तनहुँ पर्दछ । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तरक्रिया कार्यक्रममा व्यासमा श्रम र रोजगारसम्बन्धी शाखा स्थापना गरिने जानकारी दिए । आगामी नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याउने गरी तयारी भएको उनले बताए ।
युवालाई उद्यमशील बनाउन यस आर्थिक वर्षमा नगरपालिकाले रु ५० लाख विनियोजन गरेको उनले जानकारी दिए । सामी कार्यक्रम प्रभावकारी र उपयोगी भएको जनाउँदै उनले यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।
‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नाराका साथ व्यास नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सीप नसिकी कोही पनि वैदेशिक रोजगारीमा जान नहुने बताए । “सीप नसिकी, दक्षता हासिल नगरी, नबुझी विदेश जाने दाजुभाइले धेरै दुःख पाउनुभएको छ” उनले भने, “त्यसैले सीप सिकी दक्ष बनी विदेश जानुपर्दछ ।”
सामी कार्यक्रमका गण्डकी प्रदेश संयोजक शैलेन्द्र मिश्रले वित्तीय व्यवस्थापन, सम्बन्धित देशको भाषा, मौसम तथा कानुनजस्ता विषयमा जानकारी, सही र भरपर्दो रोजगार व्यवसायीको छनोट, स्वास्थ्यसम्बन्धी सचेतना र पारिवारिक व्यवस्थापन गर्न आवश्यक रहेको बताए।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नआउने गरेका छन् । घरपरिवारसँग धेरै वर्षसम्म सम्पर्कमा नआएका जिल्लाका नौ जना रहेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र तनहुँका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिए ।
वैदेशिक रोजगारीमा गएको नौदेखि २० वर्षसम्मका रहेको उनले बताए । वैदेशिक रोजगारीमा मलेसिया गएदेखि हालसम्म ऋषिङ गाउँपालिका –७ का ओमप्रकाश परियार परिवारसँग सम्पर्कमा नआएको उनले बताए ।
त्यस्तै दुवई गएको १५ वर्षदेखि व्यास नगरपालिका–४ का सुरेन्द्र खनाल, मलेसिया गएको १५ वर्षदेखि म्याग्दे गाउँपालिका–१ का कृष्णबहादुर सिजाली मगर, मलेसिया गएको ११ वर्षदेखि व्यास नगरपालिका–९ का शङ्कर गैरे, मलेसिया गएको ११ वर्षदेखि म्याग्दे गाउँपालिका–२ का दिलबहादुर गुरुङ, मलेसिया गएको नौ वर्षदेखि म्याग्दे–५ का बमबहादुर गुरुङ, दुबई गएको नौ वर्षदेखि म्याग्दे–२ का सुदर्शन रानाभाट, व्यास –६ का शमशेर विक र भानु नगरपालिका–२ का पदमराज दाहाल हालसम्म घरपरिवारसँग सम्पर्कमा नआएको उनको भनाइ छ । रासस