
कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्नेगरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ ।
कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा चर्चा बढ्दैगएको छ । आकर्षक बुट्टा भरेर चिटिक्क परेको धर्मशाला साथीहरुसँग अवलोकन गर्दै टिकटक बनाउन, फोटो तथा भिडियो खिच्न आएको कृष्णकला श्रेष्ठले बताए ।
“हेर्दै आकर्षक खालको धर्मशाला बनेको छ, पुराना काष्ठकलाको प्रयोग गरिएको हुँदा यसले सबैलाई लोभ्याएको छ, रामपुरमा परम्परागत शैलीमा सबैलाई आकर्षित बनाउने संरचना तयार भएको छ”, उनले भने । रामपुर नगरपालिका–४ स्थित खोप्टारमा रहेको धर्मशाला हालसालै पुनः निर्माणको संरचना तयार भएपछि अवलोकन गर्नकै निम्ति आन्तरिक पर्यटक पुग्दछन् । यहाँ विवाहको बेहुला बेहुली फोटो तथा भिडियो कैद गर्न आउने गरेको स्थानीय जयन्ती घिमिरे बताइन् । विहान उज्यालो भएदेखि राति अबेरसम्म धर्मशालामा आउने जानेक्रम चलिरहेको उनको भनाइ छ ।
कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो । लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदैआएको थियो । पुरातत्व विभागको विशेष पहलमा करिब रु तीन करोड छ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको छ ।
पुरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो । पहिला झिँगटीले छाइएको थियो भने अहिले लामो समयसम्म झिँगटीले काम नगर्ने भएपछि जस्तापाताले छाइएको छ । चन्द्रमा, सूर्य आकारका विभिन्न बुट्टाले भरिएका छन् । सुर्की, इँटा, ढुङ्गा, काठले तयार पारिएको छ ।
श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी भदौदेखि निर्माण कार्य शुरु गरेको थियो । विसं २०८० असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सकेको छ । संरचना निर्माणको काम सम्पन्न भएपछि अहिले अवलोकन गर्न आउनेको दैनिक भीड लागेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए ।
सङ्ग्रहालयका रुपमा विकास गर्ने गरी संरचना तयार पारिएकोले स्थानीय सरोकारवालाको छलफल बसेर यसलाई प्रयोगमा ल्याउने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । “रामपुरको यो ऐतिहासिक धार्मिक सम्पदा रामपुरको गहनाको रुपमा रहेको छ, पुराना चलनचल्तीमा आएका तर अहिले लोपोन्मुख अवस्थामा रहेका सामग्रीलाई सङ्कलन गरेर धर्मशालामा राख्नेछौँ, यसको रेखदेख प्रयोग र सञ्चालनको जिम्मेवारी सरोकारवालाको छलफलले तोकेपश्चात् प्रयोगमा ल्याउनेछौँ”, नगर प्रमुख थापाले भने ।
करिब एक रोपनी क्षेत्रफलमा धर्मशाला निर्माण गरिएको छ । यहाँ शौचालय, चारैतिर पर्खाल लगाउने काम बाँकी छ । यस धर्मशालालाई पार्टी भवनका नामले बढी चिनिन्छ । सो सम्पदा विसं १८८९ भन्दा अघि निर्माण भएको ताम्रपत्रमा उल्लेख छ । यहीँ पार्टी भवनअर्थात् धर्मशालामा विसं २०२५ मा स्थापना भएको रामतुलसी मावि आठ महिना सञ्चालन भएको बुढापाका बताउँछन् । रासस