
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा औपचारिकरूपमा आफूले प्रधानमन्त्री दाबी नगरेको बताएका छन् ।
सोमवार चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री चयनको विषयमा गठबन्धनमा छलफल भइरहेको तर आफूले औपचारिकरूपमा दाबी नगरेको बताएका हुन् ।
‘हामी गठबन्धनमा छलफल गर्छौं र टुंग्याउँछौं । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन । मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वाभाविक हो तर बाहिर चर्चा भएजस्तो गठबन्धनको बैठकमा औपचारिकरूपमा प्रधानमन्त्रीको दाबी गरेको छैन’, प्रचण्डले भने ।
राष्ट्रपतिले दिएको समयमै प्रधानमन्त्री चयन हुने उनले बताए । सरकार बनाउने विषयमा सबै दलहरू एक आपसमा संवादमा रहेको प्रचण्डको भनाइ छ । प्रधानमन्त्री बन्नकै लागि आफूले सबै कुरा दाउमा नराख्ने प्रचण्डको भनाई छ ।
एमाले र माओवादी मिलेर सरकार बनाउने चर्चा सत्य नभएको पनि उनले बताए । ‘दलहरूको बीचमा छलफल हुनु स्वाभाविक हो, कांग्रेस–एमालेको पनि कुरा भइरहेको छ । कुरा हुनेबित्तिकै टुंगोमा पुगेको भन्ने होइन’, प्रचण्डले भने ।
प्रमुख राजनीतिक पदहरूको बाँडफाँट प्याकेजमै टुंगो लाग्ने पनि प्रचण्डले बताएका छन् ।