
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । निर्वाचनसम्बन्धी कार्यक्रम अगाडि बढाउन नेता भीष्मराज आङदम्बेको संयोजकत्वमा गठन गरिएको समितिले निर्वाचन कार्यतालिक सार्वजनिक गरेको हो । प्रकाशित कार्यतालिका अनुसार निर्वाचन कार्यक्रम सोमवारदेखि नै शुरू भएकाे छ ।
कार्यतालिका अनुसार सोमवार २ बजे संसदीय दलको नेता चयनमा सहभागी हुने मतदाताको नामावली प्रकाशन गरिने छ । संसदीय दलको नेतामा चुनिन चाहने उम्मेदवारले मंगलवार बिहान ८ बजेदेखि ११ बजेसम्म दरखास्त दिनुपर्नेछ । उम्मेदवारको अन्तिम नामावली मंगलवार दिउँसो ३ बजे प्रकाशन गरिने छ । मतदान बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुने छ ।
कांग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले तयारी अगाडि बढाएका छन् । संस्थापनइतर पक्षबाट डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायतले उम्मेदवारी दिने तयारी गरेका छन् ।
