
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा सहभागी हुनका लागि छलफललाई निरन्तता दिने बताएका छन् ।
निर्वाचन आयोगले सोमवार आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्ना एजेण्डा पूरा हुने अवस्थामा मात्रै सरकारमा जाने बताएका छन् ।
‘जनतासँग बाचा गरेको एजेण्डा सम्बोधन हुने अवस्थामा मात्रै सरकारमा जाने हो । सरकारमा जानको लागि मात्रै जानुको औचित्य छैन भन्ने छलफलमा छौँ’, लामिछानेले भने, ‘हामीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था बन्यो भने मात्रै सरकारमा जान सकिन्छ ।’
सरकार गठनको लागि विभिन्न दलका बीचमा भइरहेको छलफलमा नचाहेरै सहभागी नभएको उनले बताए ।
कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलहरू सरकार गठनका आन्तरिक छलफलमा सहभागी भइरहेका छन् ।
‘बल्ल प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको छ । अब बल्ल छलफल गर्नुको अर्थ हुन्छ । अब छलफलहरू अगाडि बढाउँछौँ’, लामिछानेले भने ।
अब भने सरकार गठनको छलफललाई तीब्र बनाउने लामिछानेले बताए ।