
लुम्बिनीमा ३ सय शैयाको अस्पताल बन्ने भएको छ । महिला र बालबालिकालाई लक्षित गरेर गुणस्तरीय अस्पताल बनाउन आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लुम्बिनी विकास कोषको पहिलो बैठक बसेकाे छ । बैठकमा लुम्बिनी क्षेत्रका विदेशी र नेपाली लगानीमा उच्च गुणस्तरको अस्पताल बनाउने सहमति भएको रुपन्देही क्षेत्र नम्बर ५ का नवनिर्वाचित सांसद वासुदेव घिमिरेले जानकारी दिए ।
पर्सा चौडाहा चोकदेखि ३ किलोमिटर पश्चिममा अस्पताल निर्माणका लागि ८ विघा ११ कठ्ठा जमिन खरिद गरेको छ । ‘हामीले शहरी विकासको नाममा ८ विघा ११ कठ्ठा जमिन ल्याइसकेका छौँ । अब निर्माण प्रक्रिया अगाडि बढाउनका लागि पहिलो बैठक बसेका हौँ’, सांसद घिमिरले भने ।
मन्त्रालयमा बसेको बैठकले अस्पताल बनाउने प्रयोजनका लागि आएको जमिनलाई तारजाली गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) गर्ने, वृहत्तर गुरुयोजना (मास्टर प्लान) बनाउने र त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने निर्णय गरेको छ ।
डीपीआर बनाउने काम आगामी ४५ दिनभित्र काम सक्ने सहमति भएको सांसद घिमिरेले बताए ।
डीपीआर प्रतिवेदन तयार भएपछि आवश्यक पर्ने बजेट जुटाउनका लागि छलफल गरिने छ । लुम्बिनी विकास कोषका अनुसार अहिले अस्पताल बनाउनका लागि थाइल्याण्ड र श्रीलङ्कन सरकारले इच्छा व्यक्त गरेका छन् । विकास कोष र मन्त्रालयले विदेशी लगानी कति हुने, नेपाल सरकारको लगानी कति हुने, प्रदेश सरकारको लगानी कति हुने र स्थानीय तहको लगानी कति हुने भन्ने विषयमा आगामी बैठकले निर्णय गर्ने सांसद घिमिरेले लोकान्तरलाई बताए ।
उनका अनुसार आगामी दिनमा उक्त अस्पताललाई मेडिकल कलेजको रुपमा लैजाने गरी योजना बनाउन लागिएको छ ।