
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज हुँदैछ । विहान ८ देखि १० बजेसम्म सिंहदरवारस्थित सो दलको संसदीय दलको कार्यालय परिसरमा मतदान हुने निर्वाचन समितिका संयोजक भिष्मराज आङ्दम्बेले जनाए ।
मतदानका लागि सांसदले आफू निर्वाचित प्रमाणपत्र साथमै ल्याउनुपर्ने उनले बताए । मतदानका लागि समितिले जारी गरेको समयभित्र लामवद्ध भएका मतदातालाई मतदानमा सहभागी गराउने समितिले निर्णय गरेको छ ।
संसदीय दलको नेता बन्नका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनबहादुर थापाको उम्मेदवारी परेको छ । दुवै उम्मेदवारले जित निकाल्ने प्रयासमा लागेका छन् । सभापति देउवाले आफ्नो पक्षमा सांसद संख्या बढी रहेकाले जित सुनिश्चित रहेको भन्दै ढुक्क देखिएका छन् । यता अर्का उम्मेदवार थापाले युवा सांसदको मत आफूलाई आउने र परिवर्तनको मुद्दा आफ्नो जितसँगै सुनिश्चित हुने दावी गरेका छन् ।
हिजो मंगलबार तोकिएको समयभित्र उम्मेदवारी परेपछि दुवै जना उम्मेदवारले सांसदलाई आफ्नो पक्षमा पार्ने तिव्र लविङ शुरु गरेका छन् । थापालाई डा. शेखर कोइराला र संस्थापनइतर समूहको समर्थन छ भने सभापति देउवालाई रामचन्द्र पौडेल, डा. शशांक कोइरालासहितको समर्थन छ ।
कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट ल्याएको थियो । अहिले सो दलसँग ८९ जना सांसद छन् । सबै सांसदले मतदान गरेमा जित निकाल्न कम्तिमा ४५ मत ल्याउनुपर्ने निर्वाचन समितिका सदस्यहरुको भनाइ छ । सभापति देउवाले आफूसँग ५५ सांसद रहेको दावी गर्दैआएका छन् ।
संसदीय दलको नेता चुनिएर पुनः छैठौं पटक प्रधानमन्त्री बन्ने सपना बोकेका सभापतिले सांसदहरुलाई आफ्नो पक्षमा पार्न मन्त्रीदेखि अन्य सुविधाको प्रस्ताव सांसदसामु गरिरहेका छन् । थापा पक्षका एक सांसदकाअनुसार सभापति देउवाले सुविधाको पद प्रदान गर्ने भन्दै सांसदलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । तर थापाले कांग्रेसलाई समयानुकुल बनाएर पार्टीको भविष्य सुनिश्चित गर्ने एजेण्डा पेश गरेका छन् ।
थापाको पक्षमा अहिले ३४ जना सांसद देखिए पनि सभापति देउवा पक्षका युवा सांसद तथा परिवर्तनको एजेण्डा बोक्ने सांसदले आफूलाई मतदान गर्ने विश्वास थापाले लिएका छन् । सभापति देउवाले निर्वाचन जितेमा कांग्रेस परम्परागत रुपमा अघि बढ्ने र थापाले निर्वाचन जितेर चमत्कार गरेमा कांग्रेससहित मुलुकको राजनीतिक धार परिवर्तन हुनेमा राजनीतिक बृत्तमा विश्लेषण भइरहेका छन् ।