
छिमेकी मुलुक चीनमा कोभिड सङ्क्रमण पछिल्लो समय ह्वात्तै बढेपछि भारत सरकारले आफ्नो देशमा सतर्कता अपनाएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सतर्कता बढाएको जनाएको छ। भारतीय सरकारले देशमा भेटिएका सबै सङ्क्रमितको जिनोम सिक्वेन्सिङ गर्न निर्देशन दिएको छ।
केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला सङ्क्रमण फैलन सक्ने भन्दै नियन्त्रणका प्रयासहरू अघि बढाउन निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको भारतमा यो वर्ष सङ्क्रमणदर न्यून छ। सरकारी तथ्याङ्कअनुसार सातामा १ हजार २०० को सङ्ख्यामा कोभिड सङ्क्रमितहरु देखिएका छन्। भारतमा दुई अर्बभन्दा बढी मानिसले कोभिड खोप लगाइसकेको जनाइएको छ ।
गत मङ्गलवार केन्द्रीय सरकारले सबै राज्यलाई कोभिड सङ्क्रमण भएका बिरामीहरूबाट नमुना सङ्कलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको थियो । सो निकायले भारतमा भेटिएका कोभिडका विभिन्न प्रजातिको निगरानी गर्दैआएको छ ।
भारतका स्वास्थ्यमन्त्री मनसुख माण्डवियले कोभिड फैलिन नदिन थप निगरानी बढाउनेबारे वरिष्ठ स्वास्थ्य अधिकारीहरूसँग छलफल गरेका छन्। कोभिडको पहिलो दुई लहरमा सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि रहेको छ । सरकारी तथ्याङ्कअनुसार भारतमा कोभिडका कारण ५ लाख ३० हजार बढीले ज्यान गुमाएका छन् । विज्ञहरूले भने कोभिडका कारण ज्यान गुमाउनेहरूको वास्तविक सङ्ख्या सरकारी तथ्याङ्कभन्दा धेरै रहेको बताउँदैआएका छन् । महामारीको समयमा मृत्यु भएका कतिपय व्यक्तिले परीक्षण नगराएको र सरकारी आँकडामा समावेश नगरिएको विज्ञहरुको बुझाइ छ ।
अक्सिजन र संवेदनशील औषधिहरूको अभावका कारण कोभिडको दोस्रो लहरमा धेरै मानिसहरूको मृत्यु भएपछि भारतमा सरकारको व्यापक आलोचना पनि भएको थियो। फेरि त्यस्तो अवस्था आउन नदिनतर्फ भारत सरकार सचेत रहेको स्वास्थ्यमन्त्रीको भनाइ छ ।