२३ जेठ २०८३, शनिबार

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चाल्र्स शोभराजलाई बुधवार नै कैदबाट मुक्त गर्न आदेश दिएको हो । 

ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चार्ल्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश दिएको छ । 

आदेशमा ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा दिएर छोड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
००००
कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता चयन भएकामा बधाई दिएका छन् । थापाले सामाजिक सञ्जालमार्फत देउवालाई बधाई दिएका हुन् । बुधबार सम्पन्न निर्वाचनमा थापा देउवासँग पराजित भएका थिए । थापाले नयाँ बन्ने सरकारमा मन्त्री नबन्ने घोषणा पनि गरेका छन् । आफूलाई मत नदिने सांसदको मन जित्न लाग्ने उनले बताए ।

निर्वाचनपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले मन्त्री नबन्ने घोषणा गरेका हुन् । ‘महामन्त्रीको भूमिकामा पार्टी काममा लाग्छु, सांसदहरुको मन जित्न लाग्छु । मन्त्री बन्दिन’, गगनले भने ।
बुधवार बिहान सम्पन्न निर्वाचनमा ६४ मत ल्याएर देउवा निर्वाचित हुँदा थापाले २५ मत प्राप्त गरे ।

प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् । गगनले अपेक्षा गरिए जति मत पनि ल्याउन सकेनन् । कांग्रेस संसदीय दलको नेता चुनिएपछि अब भावी सरकार गठनका लागि बाटो खुलेको छ ।
००००
कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरुको राजनीतिक पाठशालामा इमान्दारी र नैतिकतायुक्त राजनीतिक सँस्कृतिको संरक्षण र संवद्र्धनको पाठ अनुशासित शैलीमा पढाइने बताएका छन् । 
संसदीय दलको नेतामा गगन थापाको पक्षमा माहोल बनाउन सक्रिय भण्डारीले निर्वाचनमा प्राप्त मत अप्रत्यासित भएको बताएका छन् । यही अनपेक्षित परिणामलाई लिएर शेखर कोइराला–गगन थापा समूहमा  फाटो ल्याउन प्रयास भएको भन्दै उनले कटाक्ष गरेका छन् ।
००००
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपति विद्या भण्डारीसँग शपथ लिएका छन् । बिहीवार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथ गराउन लागेका जबराले बुधवार राष्ट्रपतिबाट शपथ लिएका हुन् ।
००००
नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । नवनिर्वाचित सांसदहरुको शपथ बिहीबार हुँदैछ । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदको शपथ लिने बाटो खुलेको छ । उनको शपथ रोक्न अल्पकालीन अन्तरिम आदेशको माग गरिएकोमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले बताएका छन् ।

लामिछानेको नागरिकता र पासपोर्ट विवादबारे परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको हो । रवि लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन मंसिर २८ गते रिट दायर भएको थियो ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । लोसपाको बुधवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए ।
००००
गण्डकी प्रदेशसभा सदस्यमा चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ गते पद तथा गोपनीयताको शपथ गराइने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम उक्त दिन ११ बजे प्रदेश प्रमुखको निवास सिमलचौरमा शपथ गराउने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । यसैबीच नेपालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधबार अस्पताल पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि माधव नेपालसँग भेट गरेका छन् । 
००००
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा अवलोकनकर्ताको भीड लाग्न थालेको छ । कोरोना भाइरसका कारण जीवजनावरको अवलोकन गर्न नपाएका सर्वसाधारण अहिले उल्लेख्यरूपमा आउन थालेको व्यवस्थापन पक्षले जनाएको छ ।
००००
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन्। जापानको श्रमिक सङ्गठन जिलाफले नेपाल ट्रेड युनियन कांग्रेससँगको सहकार्यमा बुधबार आयोजना गरेको ‘औद्योगिक सम्बन्ध सम्मेलन’मा उनले मुलुकभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए ।
००००
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
००००
काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा निर्माण गरिएका अवैध संरचनाहरू भत्काएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ । 
बुधवार काठमाडौं महानगरपालिकाले देवीनगरस्थित धोबीखोला किनारमा निर्माण गरिएका संरचनाहरूमाथि डोजर चलाएको हो । 
००००
यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिबाना गरिने विभागले जनाएको छ ।
००००
साताको दुई दिन लगातार बढेको नेप्से बुधवार सामान्य अंकले गिरावट आएको छ । बुधवार नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंकले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्