हरिप्रसाद बाँस्तोला
जङ्गलको बीच भागबाट निस्किएको महभिरको पानी फुर्केटारी सामुदायिक वनको आम्दानी बनेको छ । समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युपेयर प्रशोधित पानी बजारमा बिक्री गरेर समूहले आम्दानीको स्रोतका रुपमा उपयोग गरेको हो ।
पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले साढे दुई वर्षअघि शुरु गरेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिमार्पmत खेर गएको पानीलाई समूहको पहलमा आम्दानीको स्रोतमा परिणत गरेको हो । खानेपानीको प्रयोजनका लागि झण्डै २० वर्ष अघि चार किलोमिटरको दूरीबाट दुई इञ्चको पाइपमार्पmत बस्तीमा ल्याएको पानी जङ्गलमा हरियाली बढेसँगै पानीको स्रोत वृद्धि भएपछि समूहको पहलमा विकल्पको रुपमा पानी उद्योग शुरु गरिएको फुर्केटारी एक्युफेयर प्रालिका कोषाध्यक्ष कमलमणि त्रिपाठीले जानकारी दिए ।
प्राकृतिक स्रोतको पानी शुद्ध र स्वादिलो भएको कारण बजारमा माग बढ्दै गएको उल्लेख गर्दै उनले भने, “अहिले उद्योगको पानी पोखरा बजारसहित म्याग्दी, पर्वत, बागलुङ तनहुँलगायतका जिल्लाका उपभोक्ताबीच लग्न सफल भएको छ ।” रु दुई करोड ४० लाखको लागतमा स्थापना गरी सञ्चालनमा ल्याएको उक्त उद्योगबाट प्रतिघण्टा तीन हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता रहेको उल्लेख गर्दै उनले हालसम्म पानी बिक्रीबाट रु तीन करोडभन्दा बढी आम्दानी भएको बताए ।
आर्थिक वर्ष २०७९-८० को चार महिनामा रु ३७ लाख ५९ हजार छ सय मूल्य बराबरको पानी बजारमा बिक्री गरिएको छ । त्रिपाठीले भने, “२०७७ वैशाखदेखि सञ्चालनमा आएको उक्त उद्योगबाट आव २०७७-७८ मा रु एक करोड २६ लाख २९ हजार आम्दानी भएको थियो ।”
फुर्केटारी सामुदायिक वन समूहका अध्यक्ष एवं व्यावसायिक पानी उद्योग सञ्चालक समितिका सल्लाहकार उमानाथ त्रिपाठीका अनुसार वन समूहको रु ५० हजार र ५९ उपभोक्ताबाट रु २५ हजारदेखि रु पाँच लाखसम्मको शेयर लगानीमा उद्योग सञ्चालन गरिएको छ । पानीको मुहान संरक्षणका लागि विगतमा जिविसबाट रु तीन लाख, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको रु तीन लाख, हरियो वन कार्यक्रमबाट रु एक लाख ८० हजार र भूसंरक्षण कार्यालयबाट रु ५० हजार सहयोग प्राप्त भएको र बाँकी रकम उपभोक्ताबाट सङ्कलन गरिएको उनले बताए ।
बजार क्षेत्रका उपभोक्तामा बोतल र जारको पानी उपयोग गर्ने बानी परिसकेको वर्तमान अवस्थामा वन समूहले उत्पादन गरेको मूलको पानीले बजार पाएको छ । त्रिपाठीले भने, “प्रालिले २० लिटरको जार, एक र आधा लिटरको बोतलको पानी बजारमा बिक्री गर्दैआएको छ ।” प्रालिले जारको पानी रु ५०, एक लिटरको बोतल प्रतिकाटुन (१२ वटा) रु एक सय ६५ र आधार लिटरको प्रतिकाटुन (२० वटा) बोतल रु दुई ६० मा बिक्री गर्दैआएको छ ।
उद्योगमा हाल १८ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेको वन समूहका सचिव रमा त्रिपाठीले जानकारी दिए । उक्त मूलको पानीबाट उपभोक्ताका समूहले एक घर एक धारा जाडन गरी खानेपानीको सुविधालाई निरन्तरता दिँदैआएको छ । कूल २८ हेक्टर क्षेत्रफलमा पैmलिएको वन क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यका साथ पानी व्यवस्थापन, घुम्ती कोष परिचालन, वन गोडमेल, वेमौसमी तरकारी खेती, खानेपानी तथा मुहान संरक्षण र डिप बोरिङ सञ्चालन उपसमिति निर्माण गरिएको छ । वनको संरक्षण, सम्वर्धन र विकास गर्दै आएका सामुदायिक वन उपभोक्ता समूहले काठको विकल्पको रुपमा वन क्षेत्रभित्र रहेका प्राकृति स्रोतको सम्भाव्यता अध्ययनका आधारमा उद्यम सञ्चालन गरी थप आयआर्जनतर्पm उन्मुख हुँदैगएको छ ।
तरकारी खेतीमा प्रयोग भएको पानी जार र बोतलमा राखेर बजारमा बिक्री गर्न शुरु गरेपछि सो वन समूहको सक्रियतामा सिँचाइका लागि डिप बोरिङको व्यवस्था गरिएको छ । कूल रु ६५ लाखको लागतमा चार इञ्चको बोरिङमार्पmत निकालिएको पानीबाट उपभोक्ताको १६६ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । हेमजा विशेषगरी आलुखेतीका लागि परिचित छ ।
सामुदायिक वनको संरक्षणसँगै उत्पादिन वन पैदावार र प्राकृतिक स्रोतको उपयोगमा कतिपय कानुनी अड्चनका कारण सदुपयोग हुन नसकेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका सचिव ठाकुर भण्डारीले जानकारी दिए । सामुदायिक वनलाई मुलुकको समृद्धिसँग जोडिने खालका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले जमिन, जङ्गल र जलस्रोतलाई भरपुर उपयोग गर्दै प्रथम रोजगारीका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
फुर्केटारी पानी उद्योगमा जापानको टोली
फुर्केटार सामुदायिक वन समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युफेयर पानी उद्योगको जापानको नागोया विश्वविद्यालयको एक टोलीले अवलोकन गरेको छ । विश्वविद्यालयका प्राध्यापक काजुहिरो हाराडाको नेतृत्वमा नवीनकुमार दाहालसहितको टोलीले प्राकृतिक स्रोतको भरपुर उपयोग गर्दै आयआर्जनसँग जोडिएको पानी उद्योग, सिँचाइ र खानेपानी तथा तरकारी उत्पादनका बारेमा जानकारी लिएको हो ।
टोली नेता हाराडाले नेपालका सामुदायिक वन समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे । प्राकृतिक स्रोतको उपयोग गर्ने विशेषमा सामुदायिक वनसँग विश्वविद्यालय सहकार्य गर्न तयार रहेको उनले बताए । रासस