
रेशम चौधरीका बुवा लालवीर चौधरी सांसदको शपथका लागि संसद् भवन पुगेका छन् ।
बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र हैसियतमा निर्वाचित लालवीर पत्नी (रेशमकी आमा)लाई पनि लिएर संसद् भवन प्रवेश गरेका हुन् ।
बर्दिया– २ मा रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई आधिकारिक उम्मेदवार बनाएको थियो ।
उनले छोरालाई नि:शर्त रिहाका लागि माग गर्ने बताए ।
'मेरो छोरालाई नि:शर्त रूपमा रिहाइको मागका लागि स्वतन्त्रबाट जितेर आएको छु । सदनमा मेरो एजेन्डा त्यही हुन्छ,' लालवीरले भने, 'जनताका एजेन्डा पनि बोल्छु ।'
रेशमकी आमाले पनि आफ्नो छोरा अब रिहा हुने विश्वास व्यक्त गरिन् ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर रेशम चौधरीले जेलजीवन बिताइरहेका छन् ।
उनकै संरक्षकत्वमा खुलेको नागरिक उन्मुक्ति पार्टीले ३ सीट जितेको छ । स्वतन्त्र जितेका लालवीर समेत जोड्दा उन्मुक्तिको कुल ४ सीट पुग्छ ।