३२ असार २०८३, बिहीबार
राजनीति

पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ– 'देउवासँग आजै निर्णायक कुरा गर्छु, कुरा सकारात्मक छ'

पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ– 'देउवासँग आजै निर्णायक कुरा गर्छु, कुरा सकारात्मक छ'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्वबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक कुरा गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यायल पेरिसडाँडामा बिहीवार बसेको पदाधिकारी बैठकमा प्रचण्डले पहिलो कार्यकालको प्रधामन्त्रीमा दाबी रहने बताएका हुन् । 

‘सरकार गठनका लागि छलफल चलिरहेको छ, कुरा सकारात्मक नै छ । संसदीय दलको नेता चयनपछि आजै (बिहीवार साँझ) देउवाजीसँग कुरा गर्दैछु’, प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक सचिवले लोकान्तरसँग भने, ‘सकेसम्म माधवजी र मसँगै कुरा गर्न जान्छौँ ।’ प्रचण्डले एमालेसँग मिलेर सरकार गठनको सम्भावनाबारे भने केही बताएका थिएनन् । 

कांग्रेस संसदीय दलमा रामचन्द्र पौडेलले देउवालाई प्रस्ताव गर्नुले गठबन्धनमा सत्ता साझेदारीमा सहज संकेत देखिएको प्रचण्डले बताएका थिए । ‘रामचन्द्रजीले देउवालाई प्रस्ताव गर्नुको अर्थ छ, गठबन्धनमा सहमतिको संकेत हो’, प्रचण्डले भनेका थिए । 

बिहीवार संसद् परिसरमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता पौडेलले राष्ट्रपति बन्ने सम्भावना इन्कार गरेका थिएनन् । राष्ट्रपति बन्दै हुनुहुन्छ रे नि भन्ने पत्रकारको प्रश्नमा पौडेलले भनेका थिए, ‘त्यही बेला थाहा हुन्छ !’ पौडेलले भनेका थिए ।

देउवाले पनि संसदीय दलको निर्वाचनपछि ‘पावर शेयरिङ’बारे छलफल गर्ने बताएका थिए । देउवा बुधवार संसदीय दलको नेता चयन भएका छन् । प्रचण्ड पनि बिहीवार संसदीय दलको नेता चयन भइसकेका छन् । 

प्रधानमन्त्री सिफारिस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय पुस १० गते आइतवार सकिँदैछ । बुधवार राष्ट्रपति कार्यालय र बिहीवार संसद् भवन परिसरमा ओली र प्रचण्डबीच भलाकुसारी भएको थियो । 

बिहीवार ओलीले प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयारी गर्न आग्रह गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्