
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । गठबन्धनको भविष्य र नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘निर्णायक वार्ताࡆ’ गर्न उनी बालुवाटार पुगेका हुन् ।
आज साँझ देउवासँग निर्णायक वार्ता गर्ने प्रचण्डले दिउँसो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा जानकारी गराएका थिए । ‘सरकार गठनका लागि छलफल चलिरहेको छ, कुरा सकारात्मक नै छ । संसदीय दलको नेता चयनपछि आजै (बिहीवार साँझ) देउवाजीसँग कुरा गर्दैछु’, प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक सचिवले लोकान्तरसँग भने, ‘सकेसम्म माधवजी र मसँगै कुरा गर्न जान्छौँ ।’
प्रचण्डले एमालेसँग मिलेर सरकार गठनको सम्भावनाबारे भने केही बताएका थिएनन् । प्रचण्ड बिहीवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी पेश गर्न पुस १० गतेसम्मको समयससीमा दिएपछि दलहरूबीच सरकार गठनका बारेमा छलफल हुन थालेको छ । सबै दलले संसदीय दलको नेता चयन गरिसकेपछि सरकार गठनको छलफलले अझै तीव्रता पाउने अपेक्षा गरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो कार्यकालमै प्रधानमन्त्री बन्ने कसरतमा लागेका छन् । माओवादी केन्द्रका नेताहरूले प्रचण्ड प्रधानमन्त्री बन्ने बताइरहेका छन् । यता संसदको सबैभन्दा ठूलो दल कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेको छ ।
सत्ता गठबन्धनका अधिकांश नेताहरूले गठबन्धनकै सरकार बन्ने बताइरहेका छन् । यद्यपि, कसको नेतृत्वमा, कसरी सरकार गठन हुन्छ भन्ने बारेमा भने ठोस निर्णय भइसकेको छैन ।
एमालेले पनि सरकार गठनको कसरत गरिरहेको छ । सत्ता गठबन्धनमा फुट ल्याएर सरकार गठन गर्ने कसरतमा एमाले नेताहरू लागिरहेको बताइएको छ ।