३१ जेठ २०८३, आइतबार

अघि बढाइँदै अर्धजलाशययुक्त किमाथाङका अरुण जलविद्युत् आयोजना

अघि बढाइँदै अर्धजलाशययुक्त किमाथाङका अरुण जलविद्युत् आयोजना
प्रतिकात्मक तस्वीर

कूल ४५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले सूचनामार्फत् संखुवासभा जिल्लामा आयोजनास्थल रहेको आयोजनाको परामर्शदाताका रूपमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनीयरिङ कम्पनीले काम गरिरहेको छ । 

आयोजना संखुवासभाको भोटखोला गाउँपालिका–२ मा अवस्थित छ । पछिल्ला दिनमा ‘हाइड्रो’ हबका रूपमा परिचित अरुण नदीमा निर्माण हुने आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि आकर्षक छ । एउटै वडाभित्र सीमित आयोजना स्थानीय छुम्सुर गाउँ नजिकै छ ।

कम्पनीका अनुसार अरुण नदीमा जगदेखि १४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो बाँध निर्माण हुनेछ । सोही बाँधका कारण अरुण नदीमा करीब ० दशमलव ३५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल बन्नेछ । तालमा १०३ लाख घनमिटर क्षमताको जलाशय बन्नेछ । 

भोटखोला गाउँपालिका–२ को लिहम गाउँबाट करीब ५०० मिटर तल पुङमुछीमा विद्युत् गृह निर्माण हुनेछ । आयोजनाका लागि ८ मिटर व्यास भएको करीब ५ हजार ९१८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ ।

कम्पनीका अनुसार पानीको डिजाइन बहाव करीब १४३ घनमिटर प्रतिसेकेण्ड र करीब ३७९ दशमलव ५२ मिटरको कूल हेड प्रयोग गरिनेछ । त्यसबाट वार्षिक करीब २ हजार ६५५ दशमलव १२ गिगवाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । 

विद्युत् गृह भूमिगत हुनेछ । त्यसमा हेडरेस सुरुङबाट ल्याइएको पानीलाई ४ वटा टर्बाइनमा खसाली विद्युत् उत्पादन हुनेछ । 

विद्युत् उत्पादनपश्चात् करीब ७५१ दशमलव ०५ मिटर लामो रेलरेस सुरुङमार्फत पानी पुनः अरुण नदीमा नै छाडिनेछ । आयोजनाका संरचनासम्म पुग्नका लागि २६ दशमलव ८ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिनेछ ।

आयोजनाका अधिकांश संरचना मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा निर्माण हुनेछ । आयोजनाले वातावरणीय रूपमा पार्नसक्ने प्रभावबारे आवश्यक जानकारी ७ दिनभित्र दिन कम्पनीले आग्रह गरेको छ ।

अरुण नदीमा नै हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही कम्पनीले तल्लो अरुण समेत जिम्मा लिएको छ ।
 
अरुण ४ जलविद्युत् आयोजनाको पनि प्राधिकरण र सोही कम्पनीले संयुक्त रूपमा काम गरिरहेको छ । १ हजार १०० मेगावाट क्षमता बराबरको माथिल्लो अरुणको पनि प्रक्रिया अगाडि बढाइएको छ । 

आयोजनाका लागि प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ ।

हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआरडीसीएल) ले आन्तरिक रूपमा वित्तीय व्यवस्थापनको काम शुरू गरेको छ । यस आधारमा ऊर्जा नदीका रूपमा परिचित अरुण नदीमा नै किमाथाङका अरुणको काम समेत शुरू भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्