काठमाडौं, १ साउन– क्यान्सरको उपचार गरिरहेका सरोजकृष्ण गमालको उपचार खर्च सकिएको छ । मकवानपुरको थाहा नगरपालिका १० चित्लाङका गमाल उपचार खर्च नभएर अस्पतालमा छट्पटाइरहेका छन् ।
२८ वर्षीय गमाल विगत दुईबर्षदेखि ललितपुरको नेशनल क्यान्सर हस्पिटलमा क्यान्सरको उपचार गर्दै आएका छन् ।
छातीमा क्यान्सर भएका कारण उनको फोक्सो र ढाडमा समेत समस्या देखिएको छ । आफूलाई क्यान्सर लागेको थाहा पाउनै निकै समय लागेको उनी बताउँछन् । ‘शुरुमा ढाड दुखेर अस्पताल गएको थिएँ,’ अस्पतालको भेडमा भेटिएका उनले भने, ‘रोग पहिचान गर्नमै सबै पैसा सकियो र यसबीच रोग पनि फैलिँदै गयो ।’
दुईबर्षसम्म ऋण गरेर उपचार खर्च जोहो गर्दै आएका थिए । तर अहिलेसम्म आउँदा उनीसँग भएको सबै पैसा सकिसक्यो । उपचारका लागि थप खर्चको आवश्यकता परेको उनले सुनाए ।
ललितपुरको इमाडोलमा सानो मिठाई पसल सञ्चालन गर्दै आएका थिए गमाल परिवार । श्रीमान् विरामी भएपछि अम्बिकाले उपचारको लागि दिनदिनै अस्पताल धाउनुपर्दा पसल खोल्न सकेकी छैनन् ।
अलि अलि कमाई हुने पसल समेत बन्द गरेर श्रीमान्को उपचारमा खटिनु पर्दा परिवारको आम्दानीको स्रोत समेत बन्द छ । जसकारण आफूहरु चरम आर्थिक संकटमा फसेको श्रीमती अम्बिकाले दुखेसो पोखिन् ।
सरोजका ४ वर्षीया छोरी महिनादिनदेखि स्कूलमा जान पाएकी छैनन् । बुबा अस्पतालमा थला पर्दा छोरी समेत आमासँगै अस्पतालमा बस्दै आएकी छिन् ।
गमालको उपचारको लागि तीन हप्ताको एकपटक किमो चलाउनुपर्छ र एउटा किमोको खर्च करिब १२ देखि १५ हजारसम्म तिर्नुपर्दछ ।
गमाल सबैसँग सहयोगको अपिल गरिरहेका छन् । उपचार पाएर उनी अझै बाँच्न चाहन्छन् । उपचार खर्च पाएर निको भए बाँकी जीवन क्यान्सरपीडितकै सेवामा लाग्ने उनको इच्छा छ ।
गमाल परिवारलाई सहयोग गर्न चाहनेले श्रीमती अम्बिका गमालको नाममा प्रभु बैंकमा रहेको खाता नम्बर ००४०१०००९२४७३४०००००१ मा रकम जम्मा गर्न सकिनेछ । उनको अवस्थाबारेमा बुझ्न र केही सहयोगको लागि ९८१४२०६९०४ र ९८४९९३६९६७ मा सम्पर्क गर्न सकिनेछ ।