
राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको कुइनेपानीस्थित नवनिर्मित मध्पश्चिम विश्वविद्यालयको भवन उदघाटन गरेकी छन् । विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उनले शिलालेख अनावरण गरी उदघाटन गरेकी हुन् । सो अवसरमा उनले विश्वविद्यालयका दाता मोतीप्रसाद सापकोटालाई अभिनन्दनसहित कदरपत्र पनि प्रदान गरिन् ।
विश्वविद्यालयका सहायक प्राध्यापक पञ्चदेव भट्टकाअनुसार राष्ट्रपति भण्डारीले विश्वविद्यालयले अवलम्बन गरेको भ्रष्टाचार विरोधी अभियानको प्रसंशा गरिन् । विश्वविद्यालयले गरेको प्रगतिको उनले सराहना गरिन् । मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वले नेपालको समग्र शैक्षिक सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि उनले सुझाव दिइन् । राष्ट्रपति भण्डारी नेपालल पत्रकार महासंघको साधारणसभा उदघाटनका लागि शुक्रबार सुर्खेत गएकी थिइन् ।
सहायक प्राध्यापक भट्टका अनुसार सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयको नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । सो अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारको पनि उपस्थिति रहेको थियो । त्यस्तै, समारोहमा सङ्घीय सांसद, प्रदेश सरकारका मन्त्री, कर्णाली प्रदेश सभाका सांसद, विश्वविद्यालय सभाका सभासद, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको पनि उपस्थिति थियो ।