काठमाडौंको किर्तीपुरमा शुक्रबार गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका बस, फोर्स गाडी र टाटा सुमोसहित १८ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दक्ष तालिम प्राप्त प्राविधिकसहितको टोलिद्वारा गरिएको १०७ सवारी साधन चेकजाँचका क्रममा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गरिएको हो ।
अवस्था ठीक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली किर्तीपुर क्षेत्रमा खटेको थियो ।
आफनो सवारी साधनको अवस्था ठीक भएमा मात्रै सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक भट्टले अनुरोध गरेका छन् ।