
काठमाडौं, ३१ साउन — भारतको गोरखपुरको एक अस्पतालमा अक्सिजन सिलिन्डर रित्तिएपछि चिन्तित मातापिताले आफ्ना सन्तानको फोक्सोमा हाते पम्पबाट हावा पु–याउन बाध्य भएका थिए ।

अन्य मातापिताले शहरभरि रगत, सिरिन्ज र अन्य आधारभूत वस्तुको खोजीमा भौंतारिनुप–यो । उनीहरूले स्वास्थ्यकर्मीसँग सहायताको अनुरोध गरे । केहीले सन्तान बितेपछि आफूलाई प्रहरीले वार्डबाट निकालेको बताए ।
विगत एक हप्तामा गोरखपुरको बाबा राघव दास अस्पतालमा कम्तीमा ६४ बालबालिकाको मृत्यु भएपछि आमभारतीयहरू स्तब्ध भएका छन् ।
अस्पतालका प्रमुखलाई निलम्बन गरिएको छ र मुख्यमन्त्री योगी आदित्यनाथले राजीनामा दिनुपर्ने माग उठेको छ ।
कम्तीमा ३० बालबालिकालाई अक्सिजन कटाइएको कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । पैसा तिर्न नसकेपछि अक्सिजन आपूर्ति बन्द गरिएको थियो ।
एक पिता मोहम्मद जाहिदले आफ्नी पाँच वर्षीया छोरीको फोक्सोमा हाते पम्पले हावा दिएका थिए । उनलाई चर्को ज्वरो आएपछि अस्पताल लगिएको थियो । चिकित्सकहरूले यो इन्सेफलाइटिस रोग भएको बताएका थिए ।
जहिद र उनका १७ वर्षीय भान्जोले हाते पम्पबाट छोरीको सास चलाइरहन कोशिश गराए । तर उनको केही लागेन र छोरीको मृत्यु भयो । ‘आफ्नै आँखाअगाडि छोरी तड्पीतड्पी बितेको दृश्य हेर्नुप–यो,’ जाहिदले भने ।
सरकारी अस्पतालका कर्मचारी चाहिँ सघन उपचार कक्षमा वैकल्पिक अक्सिजन आपूर्ति गरिएको बताउँछन् । उनीहरू र राज्यका नेताहरू इन्सेफलाइटिसका कारण मृत्युहरू भएको बताउँछन् ।
‘उनीहरू मृत्युका लागि अक्सिजन आपूर्ति रोकिनुको कुनै भूमिका छैन कसरी भन्न सक्छन्,’ जाहिद भन्छन्, ‘मेरी छोरी अक्सिजन आपूर्ति हुन्जेलसम्म शरीर चलाउन सक्थिन् । हामीले हाते पम्प चलाउन थालेपछि उनको स्वास्थ्य अवस्था बिग्रेर गयो ।’
आइतवार भारतका स्वास्थ्यमन्त्री जेपी नड्डा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका साथ अस्पतालको भ्रमण गर्न पुगेका थिए । पछि आदित्यनाथले अनुसन्धान पूरा नहुन्जेलसम्म धैर्य धारण गर्ने आग्रह गरे ।
‘हामीहरू अक्सिजनको कमी वा उचित उपचारको कमीका कारण यो घटना भएको थाहा पाउनेछौं,’ आदित्यनाथले भने, ‘दोषी पाइएका व्यक्तिलाई छोडिने छैन ।’
उत्तर प्रदेशका स्वास्थ्यमन्त्री अस्पतालमा पुग्दा भने विद्यार्थीहरूले उनलाई अण्डा र गोलभेंडा हिर्काए । विपक्षी कांग्रेस पार्टीले यी बालबालिकाको हत्या भएको बताउँछ ।
घटनाका बाबजुद रोगीहरू अस्पताल आउने क्रम जारी छ । शनिवार मात्र इन्सेफलाइटिसका ४५० रोगीहरूलाई भर्ना गरिएको थियो । तीमध्ये २०० जना त १२ वर्षमुनिका बच्चा छन् । शैय्याको अभावका कारण धेरैलाई शौचालयनिरै भुइँमै उपचार गरिएको छ ।
एजेन्सी