काठमाडौं, ३१ साउन — हिजोआज देशका विभिन्न क्षेत्रमा बाढीपहिरोको प्रकोप छ । शुक्रवारको वर्षाले निम्त्याएको बाढीका कारण तराईका धेरै भाग जलमग्न बनेको छ । डुबानपछि बाढी प्रभावित क्षेत्रमा विभिन्न सरुवा रोगको संक्रमण फैलिनसक्ने चिकित्सकहरूले बताएका छन् । अहिलेको समयमा बाढी प्रभावित क्षेत्रमा बसोबास गर्नेले सम्भावित संक्रमणबाट बच्न आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्ने चिकित्सकहरू बताउँछन् ।
प्रकोपको समयमा सुरक्षित स्थानमा बस्नुका साथै खानपानमा विशेष ध्यान दिन जरूरी रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर शेरबहादुर पुन बताउँछन् । डा. पुन
डा. पुनका अनुसार बाढीप्रभावित क्षेत्रमा निम्न संक्रमण देखिनसक्छन् ।
झाडापखाला आउँ रगतमासी हैजा टाइफाइड जन्डिस
डा. पुनले बाढीप्रभावित क्षेत्रमा हुनसक्ने सरुवा रोगको संक्रमणबाट बच्न यस्ता उपाय अपनाउन सुझाव दिए :
बाढीप्रभावित क्षेत्रमा खानेपानीको मुहान दूषित भएको हुनसक्छ । त्यसैले पिउने पानीको प्रयोग गर्दा विशेष ध्यान दिन जरूरी हुन्छ ।
सम्भव भएसम्म पानीलाई उमालेर मात्र पिउनुपर्छ । पानीलाई उमालेर प्रयोग गर्दा पानीमा भएको जीवाणु नष्ट हुन्छ र रोगको संक्रमण हुन पाउँदैन ।
बाढीप्रभावित क्षेत्रमा रहेका पीडितहरूले पानी उमालेर खानसक्ने अवस्था नहुन पनि सक्छ । यस्तो अवस्थामा पानीमा रोगका जीवाणु नष्ट हुने औषधि (पीयूष, अक्वाट्याब) को प्रयोग गर्नुपर्छ ।
पीयूष मिसाएको पानी पिउँदा पनि रोगको संक्रमणबाट बच्न सकिन्छ तर पीयूष प्रयोग गर्दा पनि ध्यान दिन जरूरी छ ।
प्रभावित क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूले पिउने पानीको शुद्धीकरण गर्ने तरिकाको बारे जानकारी गराउनसके मात्र पनि धेरै किसिमका सरुवा रोगबाट बच्न सकिन्छ ।
प्रभावित क्षेत्रमा सामूहिक भोजन गरिएको छ भने खाना बनाउने व्यक्ति स्वस्थ हुनुपर्छ ।
अहिले देशको विभिन्न क्षेत्रमा स्वाइन फ्लुको संक्रमण छ । विपद्को समयमा सबै सामूहिक रूपमा रहेका हुन्छन् । सामूहिक रूपमा बस्दाखेरी मास्कको प्रयोग गर्दा सरुवा रोगको संक्रमणबाट बच्न सकिन्छ ।
यो समयमा राहत सामग्रीसँगै औषधि र मास्क पनि वितरण भयो भने संक्रमण फैलिन पाउँदैन ।