
कैलालीको भजनी नगरपालिका –५ स्थित इलाका प्रहरी कार्यालय पृथ्वीपुरमा कार्यरत प्रहरीसँग दुईवटा साइकल मात्र छ । ती दुई वटा साइकलको भरमा सीमा क्षेत्रमा गस्ती गर्दै प्रहरीले दिन कटाउँछन् । कार्यालयमा अन्य सवारी साधन नरहेकाले प्रहरीले दुई साइकलको भरमा गस्ती गर्दैआएको बताएका छन् ।
यो क्षेत्रमा तस्करहरुले मोटरसाइकल प्रयोग गरेर तस्करी गर्नेगरेका छन् । तस्कर मोटरसाइकलमा गुड्ने क्षेत्रमा प्रहरीले साइकलबाट उनीहरुलाई पछ्याउँछन् । सवारी साधनको नाममा दुई वटा साइकलमात्रै छ, जसोतसो काम चलाउनैपर्छ प्रहरीले भने ।
पहिले एउटा मोटरसाइकल भए पनि बिग्रेपछि अहिले प्रहरीसँग साइकलमात्रै रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । तस्करहरु मोटरसाइकल चढ्ने ठाउँमा प्रहरीलाई साइकलको भरमा गस्ती गर्न समस्या रहेको उनले बताए ।
इलाका प्रहरी कार्यालयमा २३ जना प्रहरीको दरबन्दी छ । अहिले सइको नेतृत्वमा १० जना प्रहरी कार्यरत छन् । सवारी साधन नहुँदा प्रहरीलाई समस्या रहेकाले भन्सारबाट लिलाम हुने गाडीमध्येबाट उपलब्ध गराउने पहल भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।