
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आज सत्ता गठबन्धन दलको संयुक्त बैठक बस्दैछ । विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसेर सानो आकारको मन्त्रीमण्डल गठनबारे छलफल हुने बताइएको छ ।
आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी सँगसँगै सानो आकारको मन्त्रीमण्डल गठनका लागि बैठकले मन्त्री हुनेको नाम टुङ्गो लगाउने एमाले प्रचार सचिव गगन विष्टले जानकारी दिए । सत्ता गठबन्धनमा सहभागी सात दल र तीन जना स्वतन्त्र सांसदहरुसहित बैठक आव्हान भएको उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानन्त्रीमा नियुक्त भएपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक डाकिएको विष्टले जानकारी दिए । उनकाअनुसार आज पहिलो चरणमा छोटो आकारको बढीमा तीन जनासम्म मन्त्रीले शपथ खानसक्ने उनले बताए । तर नामबारे बैठकले टुंगो लगाउने उनको भनाइ छ ।
सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा, रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदमा प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साह आवद्ध भएका छन् ।