
टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको शुरुवात गरेको छ । यी केन्द्रहरूमध्ये ३ वटा काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौंमा बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबर, हेटौँडा, सर्रा, धनगढी र नेपालगन्जमा रहेका छन् ।
क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटाअन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेशप्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्त रूपमा गरेका थिए ।
समारोह उपस्थित सम्बद्ध विशिष्ट अधिकारीहरूलाई टाटा मोटरसका रिजनल कस्टमर केयर (दक्षिण एसिया ) मेनेजर रन्धिरकुमार चौधरी तथा सिप्रदीका कस्टमर केयरका (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए ।
यस तीन दिने क्याम्पमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरूको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिँदैछ । यस्तो जाँच गराउदा गाडीधनीहरूले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरू प्राप्त गर्नेछन् । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिँदैछ । यसको अतिरिक्त यस क्याम्पमा सन्जीवनी इन्जिन प्याकेजअन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था छ ।
हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरूको बजार विस्तार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको कम्पनीले बताएको छ । यो क्याम्पमा ग्राहकहरूको उत्साहजनक सहभागिता हुने पनि कम्पनीले विश्वास राखेको छ ।