१० असार २०८३, बुधबार
प्रचण्डको ब्रिफिङ

माओवादी पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ– ‘... अनि बालुवाटारबाट निस्किएँ’

माओवादी पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ– ‘... अनि बालुवाटारबाट निस्किएँ’
फाइल फोटो

नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले संविधानको धारा ७६ (३) को प्रक्रियामा लैजाने चालबाजी गरेपछि आफूले राजनीतिक ‘मुभ’ चालेको बताएका छन् । 

सोमवार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले कांग्रेसले आफूहरूलाई अल्मल्याउने मात्र काम गरेको बताएका हुन् । संविधानको धारा ७६ (३) मा जाँदा पहिलो दलको हैसियतले कांग्रेसले स्वतः सरकारको नेतृत्व पाउने अवस्था हुन्थ्यो ।

‘अन्तिमसम्म पनि कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने अडान  लियो । उसको नियत झुलाएर ७६ (३) मा लैजाने देखियो । त्यसपछि एकछिनमा आउँला भनेर म बालुवाटारबाट हिडें,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले लोकान्तरसँग भने, ‘बाटोमा हुँदा फोन पनि आएको थियो, तर उनीहरूको नियतचाहिँ सही थिएन । त्यसपछि मैले कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउनु नै उपयुक्त हुने ठानें । यता कुरा मिल्यो र सब चिज भयो ।’ 

चुनावमा पनि कांग्रेसले इमान्दारीपूर्वक सहयोग नगरेकाले कम्युनिस्टसँगै मिल्नु पार्टीको हितमा हुने प्रचण्डले बताएका थिए । 

प्रचण्डले जनताको विश्वास जित्नेगरी काम गर्ने आश्वासन बैठकमा दिएका थिए ।

‘हामीलाई माओवादीको पहिचान मेटिँदै गएको चिन्ता छ । नयाँ सरकारले देशका समस्या र आर्थिक चुनौती समाधान गर्दै सुशासनमा केन्द्रित भएर काम गर्ने हो,’ प्रचण्डले भनेका थिए । 

बैठकमा नेताहरूले देशको आर्थिक अवस्था संकटपूर्ण रहेको र गम्भीरतापूर्वक लाग्नुपर्ने सुझाव दिएका थिए ।

एउटा टीम नै गठन गरेर अर्थतन्त्रलाई सही दिशा दिनेगरी काम गर्न नेताहरूले सुझाव दिएका थिए । 

बैठकमा प्रचण्डले मुख्य पदमा मोटामोटी भागबण्डा भए पनि मन्त्रालय बाँडफाँटको छलफल बाँकी रहेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्