२६ जेठ २०८३, मंगलबार

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहँदा पनि फरक पर्दैन : गृहमन्त्री खाण

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहँदा पनि फरक पर्दैन : गृहमन्त्री खाण
फाइल तस्वीर

गृहमन्त्री बालकृष्ण खाणले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजतापूर्वक लिएको बताएका छन् । सोमवार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ भेटमा बोल्दै कांग्रेस नेतासमेत रहेका उनले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताए । 

गृहमन्त्री खाणले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई आफूले फोनमार्फत बधाइ तथा शुभकामना दिएको उल्लेख गर्दै नयाँ सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे । उनले नयाँ सरकार यो सरकारकै निरन्तरता भएकाले नयाँ सरकारलाई पनि सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरे । 

‘आम निर्वाचनपछि सरकार निर्माण गर्ने प्रक्रियामा केही परिवर्तनहरू भएका छन् । गठबन्धनमा परिवर्तन पनि भएको छ । यसलाई यसलाई देशले सहजतापूर्वक नै लिनुपर्दछ । नयाँ सरकारलाई हामी सबैले मद्दत गर्नु पर्दछ’, खाणले भने, ‘अब हाम्रो संवैधानिक व्यवस्थाले, दलीय प्रबन्धले राजनीतिक दलका नेता र कार्यकर्ताहरू दलमा आवद्ध रहनु त स्वभाविक हो । तथापि सरकार भनेको सरकारकै निरन्तरता हो । हामीले हिजोको सरकारको निरन्तरतालाई नै अगाडि बढाएको हो । अब आउने नयाँ सरकारले पनि त्यसैलाई निरन्तरता दिएर जान्छ ।’

गृहमन्त्री खाणले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहे पनि फरक नपर्ने अनुभूतिसमेत सुनाए । प्र्र्र्र्रधानमन्त्री कार्यालयमा रहेको सो विभागलाई गृह मन्त्रालय मातहत ल्याउन अझै पनि दबाब परिरहेका बेला उनले भने जहाँ रहे पनि फरक नपर्ने प्रतिक्रिया दिए । 

गृहमन्त्री खाणले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औँल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पनि पटक-पटक दोहोर्‍याए । उनले मध्यरातमा आफूले मन्त्रालयमा बसेर काम गरेको र त्यसमा सबै कर्मचारीहरुले सहयोग गरेको भन्दै धन्यवादसमेत व्यक्त गरे । 

गृहमन्त्री खाणले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गरेका थिए । त्यसलाई सफलतापूर्वक सञ्चालन गरेको उनको दाबी थियो । खासगरी स्थानीय तहको निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुशी रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्