
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता तथा १ नम्बर प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले संसदबाटै प्रदेश खारेजीको आवाज उठाउने बताएका छन् ।
प्रदेशसभाभन्दा बाहिर बसेर खारेजीको माग उठाउँदा सुनवाइ नहुने भएकाले पनि प्रदेशसभाबाट नै आवाज उठाउने उनले बताए ।
प्रदेशका मन्त्री र सांसदहरूको खर्च धेरै भएकाले खारेज हुनुपर्छ भनेर प्रदेश सभामा कुरा उठाउने उनले बताए ।
‘विदेशीसँग ऋण लिएर प्रदेश सभाका सदस्यहरूलाई तलबभत्ता खुवाउनुपरेको छ,’ उनले भने, ‘केन्द्र र स्थानीय सरकारबीच समन्वय गरेर अगाडि बढाउनुपर्छ भन्ने आवाज संसदमा कडा रूपमा उठाउँछौं । देशका लागि ठूलो आर्थिक भार परेकाले पनि खारेजीको पक्षमा हामी छौं ।’
प्रदेशसभा सदस्यको शपथग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले घरभित्रै पसेर घर भत्काउन सकिने भएकाले आफूहरू प्रदेश भत्काउन लाग्ने बताए । घरबाहिर बसेर घर भत्काउन नसकिने भएकाले पनि घरमै छिर्नुपर्ने उनले बताए ।
संसद खारेजीको माग राखेका सिटौलाले सेवासुविधा भने लिने बताए । ‘घर भत्काउँदा पनि भोको पेटले हुँदैन, त्यसैले सेवासुविधा लिएर नै प्रदेशसभा खारेजीको आवाज उठाउँछौं,’ उनले भने ।
सरकारमा गए पनि खारेजीको एजेन्डा नछाड्ने उनले बताए । ‘संघ तथा प्रदेशको सरकारमा जाने कि नजाने भनेर निर्णय भएको छैन,’ उनले भने, ‘सरकारमा जाने वातावरण बने मन्त्री हुने र त्यहाँबाट पनि प्रदेश खारेजीकै कुरा उठाउँछौं ।’
‘हाम्रो चुनावको मुख्य एजेन्डा नै प्रदेश खारेजी भएको र त्यहीँ मुद्दा लिएर चुनाव गएका थियौं । प्रदेश सभामा हाम्रो उपस्थिति नहुँदा खारेजीको मुद्दा कमजोर हुने भयो । हाम्रो भोटले प्रदेशसभा खारेज हुने गरी नभए पनि हामी भाग लिएर एजेन्डा उठाउँछौं,’ उनले भने, ‘पहिलो कार्यकालमा हामीले जति कुरा उठाए पनि केही सुनवाइ नभएकाले यसपटक केही परिवर्तन गर्छाैं ।’
सबैको सहकार्यबाट नामकरण गरिनुपर्ने समेत उनले बताए । ‘म पहिलो नम्बरमा नै प्रदेशको नाम राख्नुपर्छ भन्ने मान्यता राख्छु । तत्कालका लागि नाम राख्नुपर्छ,’ उनले भने, ‘प्रदेश खारेज नभएसम्म बेनामे त हुनुभएन नि !’
केन्द्रको राजनीति र प्रदेशमा के गर्ने भन्ने विषयमा २ दिनपछि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने/नहुने विषयमा निर्णय लिने उनले बताए ।
प्रदेश सरकारमा सहभागी भए पनि खोरेजीको एजेन्डा नछाड्ने सांसद सिटौलाको भनाइ छ । प्रदेशसभा संसदीय दलको बैठक आगामी १५ गते बस्ने उनले जानकारी दिए ।