
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले व्यहोरिरहेका सास्ती कम गर्न सरकार लागिपर्ने बताएका छन् । सरकारमा सहभागी दलहरूमा केही नयाँ गरिछाड्ने संकल्प रहेको पनि बताए ।
मन्त्रिपरिषद्को पहिलो बैठकपछि सोमबार राति सिंहदरबारमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले जटिलता र चुनौती सामना गर्दै जनताका समस्या समाधानमा लाग्ने बताएका हुन् ।
‘पक्कैपनि हाम्रा सामु जटिलता र चुनौती छन्, मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ । चुनावमा जस्तो परिणाम देखियो त्यसलाई समेटेको र आशा जगाएको छ’ प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषदको यो बैठकमा पनि अर्थतन्त्रको स्थिति जटिल र चुनौतिपूर्ण छ, सुधार्न प्रभावकारी ढंगले कदम चाल्ने सहमति भएको छ ।’
सुशासन र जनताले पाइरहेको सास्तीलाई कम गर्ने विषयमा सरकार गम्भीर रहेको प्रचण्डले बताए । ‘जनताले ठाउँ ठाउँमा पाइरहेको सास्ती र दुखलाई कम गराउने कुरा तत्कालै सुरु गर्छौँ । खासगरी पासपोर्ट र लाइसेन्समा लामा लामा लाइन र जनताका पीडालाई नियन्त्रण गर्ने कुरा र जनतालाई सेवा दिने कुरामा केन्द्रित भएका छौँ,’ प्रचण्डले भने ।
केही नयाँ गरौँ भन्ने तपाईँमा हुटहुटी होला तर गठबन्धनका कारण सम्भव होला भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘मलाइ लाग्छ, सबैको केही नयाँ गरिछाड्ने संकल्प भएकाहरुको केन्द्रीकरण भएको छ ।’