२३ असार २०८३, मंगलबार
मनसुन देशभर फैलियो

पश्चिम नेपालमा भारी वर्षा र बाढीको जोखिम

असार १७, २०८३
काठमाडौं
पश्चिम नेपालमा भारी वर्षा र बाढीको जोखिम
फाइल तस्वीर

गत असार ५ गते नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायु अन्ततः देशैभर विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभाव पूर्ण रूपमा हटेर हिजोदेखि मनसुन देशभर फैलिएको हो।

गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका साथै कर्णाली र सुदूरपश्चिमका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । यस वर्ष नेपालमा मनसुन औसत मिति (जुन १३) भन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको थियो भने देशभर फैलिन १२ दिन लाग्यो । सामान्यतया मनसुन छिरेपछि देशभर फैलिन एक हप्ता लाग्ने गरे पनि यसपालि गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेर केही समय रोकिएकाले थप समय लागेको महाशाखाले जनाएको छ।

मनसुनी प्रभावले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ। देशभर मनसुन फैलिए पनि हाल पश्चिम नेपालमा तुलनात्मक रूपमा धेरै वर्षा भइरहेको छ भने पूर्वी नेपालमा कम पानी परेको छ। 

मौसमविद् विनोद पोखरेलका अनुसार मनसुन आयो भन्दैमा सबैतिर एकैनासले पानी पर्छ भन्ने हुँदैन। 'पानी पर्ने अथवा नपर्ने कुरा मनसुनको न्यूनचापीय रेखामा भर पर्छ,' उनी भन्छन्, 'अहिले त्यो न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक र पूर्वी नेपालबाट टाढा रहेको छ। त्यसैले पश्चिममा राम्रो वर्षा हुँदा पूर्वी तराई भने पूरै सुक्खा छ।'

मौसमविद् पोखरेलका अनुसार यो क्रम यो हप्ताभरि नै जारी रहने देखिन्छ, जसले गर्दा आगामी दिनमा देशभर पानी पर्ने क्रम बढे पनि यो हप्ता पूर्वी तराईमा कम र पश्चिममा धेरै वर्षा हुने सम्भावना छ।

बर्सातसँगै पश्चिमका केही जिल्लाहरूमा बाढीको जोखिम बढेको छ । बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीहरूमा जलस्तर बढिरहेकाले नदी आसपासका क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई आज दिनभर उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले विशेष आग्रह गरेको छ ।

आज दिउँसो देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा भारी (ठूलो) वर्षाको पनि सम्भावना छ।

यसैगरी, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भागका एक/दुई ठाउँमा ठूलो वर्षादेखि अति धेरै वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र बागमतीको पहाडी भागका एक–दुई ठाउँमा पनि ठूलो वर्षा हुन सक्नेछ।

आज राति हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै, पहाडी भूभागको केही स्थानमा र देशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षा तथा एक/दुई ठाउँमा अति धेरै वर्षाको समेत सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक पूर्वतयारी गर्न र सतर्क रहन सबैमा आग्रह गरेको छ। विशेष गरी पहाडी भूभागमा पहिरोको जोखिम र तराई तथा नदी तटीय क्षेत्रमा बाढी र डुबानको खतरा हुन सक्ने भएकाले यात्रा गर्दा र नदी किनारमा बस्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्