१२ साउन २०८३, मंगलबार
राजनीति

२० महिनापछि तोडियो संवादहीनता, शीतल निवासमा ओली–नेपाल भलाकुसारी

२० महिनापछि तोडियो संवादहीनता, शीतल निवासमा ओली–नेपाल भलाकुसारी

लामो समयको संवादहीनता तोड्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सोमबार कुराकानी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ समारोहमा सहभागी हुन पुगेका ओली र नेपालबीच संवाद भएको हो । शपथको औपचारिक समारोहमा पूर्वप्रधानमन्त्रीद्वय ओली र नेपाल एउटै पंक्तिमा बसेका थिए । त्यही नै ओली र नेपालबीच सामान्य बोलचाल भएको थियो ।

प्रधानमन्त्रीको शपथलगत्तै भएको चियापान कार्यक्रममा पनि ओली र नेपालबीच संवाद भएको सहभागी एक नेताले जानकारी दिए । उहाँहरुबीच संवादहीनता टुट्यो,सन्चो बिसन्चो लगायत सामान्य कुराकानी भएको हो, उनीहरूको संवाद देखेका ती नेताले भने ।

आफ्नो नेतृत्वको सरकारविरुद्ध २०७८ वैशाखमा प्रतिनिधि सभामा फ्लोर क्रस गरेपछि ओली र नेपालबीच तिक्तता बढेको थियो । एमाले विभाजन गरेर माधव नेपालले नेकपा एस गठन गरेपछि उनीहरूको सम्बन्ध शत्रुतामा परिणत भएको थियो । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि ओलीसँग प्रचण्डको सम्बन्ध सुध्रेको छ । प्रचण्डको शपथको बहानामा ओली र नेपालबीच कुराकानी हुने संयोग मिलेको हो । 

यसैबीच,प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन नेकपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा प्रचण्डलाई बधाई दिन पुगेका नेता नेपाललाई प्रचण्डले सरकारमा समर्थन गर्न आग्रह गरेका हुन् । प्रचण्डले सरकारमा सहभागिताका लागि माधव नेपाललाई आग्रह गरेको माओवादीका एक नेताले जानकारी दिए । तर,माधव नेपालले भने यसबारे केही जवाफ दिएनन् ।

माओवादी पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकमा पनि प्रचण्डले माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउन सकिने बताएका थिए । आइतवारसम्म सत्ता गठबन्धनमा सँगै रहेका नेपाल प्रचण्ड एमालेसँग मिल्न गएपछि एक्लै परेका थिए । माओवादीका दोस्रो तहका नेताहरूले पनि माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउन पहल गर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्