कोभिड १९ को खतराको घण्टी पुनः बज्ने देखिएपछि सरकारले छिमेकी देश भारतबाट फाइजरको १५ लाख नयाँ खोप ल्याउने भएको छ । सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिए । सो खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको भनेर विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भएको सरकारले भनेको छ ।
सचिव पोखरेलले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमति मागिसकेको छ । महाशाखाका निर्देशक डा. विवेककुमार लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने जानकारी दिए । १५ लाख मात्रा खोप आउने उनले बताए । यसअघि अध्यादेशमार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति दिइने गरेको थियो । छिमेकी मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट बढ्न थालेपछि सरकारले उच्च सतर्ककताका लागि सो खोप ल्याउने प्रक्रिया अघि बढाएको उनले बताए ।
हाललाई औषधि ऐनअनुसार औषधि सल्लाहकार समितिबाट अनुमति लिएर काम अघि बढिरहेको छ । डा. लालले कोभ्याक्सले नेपाललाई आवश्यक पर्ने थप खोप अनुदानको रूपमा उपलब्ध गराउने आश्वासन पनि दिएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि नयाँ स्वरूप फैलन सक्ने भन्दै नागरिकलाई सचेत गराएको छ । जनस्वास्थ्य मापदण्डको पालना गर्न अपिल गरेको छ । कोभिडविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । अहिले नेपालमा १८ वर्षमाथि उमेर समूहका लागि बुस्टर मात्रा खोप अभाव छ ।
आपूर्ति महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले हाल ४७ लाख मात्रा खोप बाँकी रहेको जानकारी दिए । त्यसमध्ये ४२ लाख साइनोभ्याक्स र भेरोसेल खोप बाँकी रहेको छ । सो खोप बुस्टरका लागि लगाउन भने मिल्दैन । पाँच लाख फाइजरलगायतको खोप बाँकी रहेको उनले बताए । उक्त फाइजर खोप बालबालिकालाई लगाउन मिल्ने उनको भनाइ छ ।
डा. लालले खोपको अभाव रहेको जानकारी दिए । काठमाडौँलगायतका विभिन्न जिल्लाका केही अस्पतालमा बुस्टर डोजका लागि खोप रहेको उनले जनाए । चीन सरकारको अनुदानमा प्राप्त कोभिडविरुद्धको ४२ लाख मात्रा साइनोभ्याक्स खोप व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति व्यवस्था शाखामा रहे पनि बुस्टरका लागि विश्व स्वास्थ्य सङ्गठनले प्रयोग गर्न अनुमति नदिएको उनले बताए । चिनियाँ खोपको अवधि अझ एक वर्ष रहे पनि बुस्टरका लागि थप खोप आयात गर्ने तयारी भइरहेको सरकारले जनाएको छ ।