
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव त्रिपक्षीय छलफलमा जुटेका छन् ।
प्रचण्डका भाञ्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा तीन नेताबीच वार्ता भइरहेको हो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई जसपाले समर्थन गरे पनि एकीकृत समाजवादी प्रतिपक्षी कित्तामा छ ।
एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयास स्वरूप छलफल भइरहेको स्रोतको दाबी छ ।
माओवादी, एकीकृत समाजवादी र जसपा मिलेर समाजवादी केन्द्र बनाउने चर्चा लामो समयदेखि चल्दै आए पनि यसले मूर्त रूप लिन सकिरहेको छैन ।
आजको भेटमा समाजवादी केन्द्र बनाउने विषयमा पनि छलफल हुन सक्ने माओवादी स्रोतले जानकारी दियो ।