२३ असार २०८३, मंगलबार

लुम्बिनी प्रदेश सांसद कुर्मीलाई सपथ नगराउन माग

लुम्बिनी प्रदेश सांसद कुर्मीलाई सपथ नगराउन माग

लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीलाई शपथ ग्रहण नगराउन अधिकारकर्मीहरुले माग गरेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आरोप लागेका बादशाहलाई प्रदेशसभा सदस्यको शपथ ग्रहण नगराउन माग गरेका हुन । 

रुबी खाँन नेतृत्वको महिला अधिकार मञ्च बाँकेले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर बाँके–३ (२) बाट निर्वाचित कुर्मीलाई गृह मन्त्रालयबाट गठित छानविन समितिले दोषी ठहर गरेको र अहिले प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानसमेत जारी रहेको अवस्थामा शपथ ग्रहण रोकेर न्याय निरूपणमा सहयोग गर्न आग्रह गरेको छ । 

नेपालगञ्ज–१७ निवासी बादशाह नेपाली कांग्रेस बाँके–३ (२) बाट निर्वाचित सांसद हुन् । २०६२ मा निर्मलाका श्रीमानको मृत्यु भएको थियो । २०६६ मा उनका १६ र १८ वर्षका दुवै छोराका १५ दिनको फरकमा मृत्यु भयो । कुनै रोग नलागेका छोराको अचानक मृत्यु भएको थियो । तर, दुवै छोराको शवको पोस्टमार्टम गर्न बादशाह कुर्मीले रोकेको आरोप लाग्दैआएको छ । 

पोष्टमार्टम नगरी दाहसंस्कार गरिएपछि बादशाहमाथि त्यतिबेलैबाट निर्मलाका छोराको हत्या गरेको शंका हुँदैआएको थियो । मञ्चले २०७७ चैत २० गते एकल महिला निर्मलाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान कसुर मुद्दाको मुख्य आरोपितको रुपमा कारबाहीको माग गर्दै ८ जनाविरुद्ध जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेको थियो । 

जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ नगरेपछि महिला मानव अधिकार मञ्च बाँकेको अगुवाईमा निरन्तर आन्दोलन हुँदैआएको थियो । जिल्ला प्रशासन कार्यालयमा १९ दिनसम्मको निरन्तर धर्नाले समेत बादशाह पक्राउ नपरेपछि २०७८ असोज १ गतेदेखि न्यायका लागि नेपालगञ्ज काठमाडौं पैदल यात्रा गरिएको थियो । पीडितहरू २० दिन लगाएर पैदल हिडेर काठमाडौं पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्