
पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ जनवरी १ देखि सञ्चालनमा आउन लागेको छ । नयाँ विमानस्थल भौतिक पूर्वाधारले निकै राम्रो छ ।
विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएको छ । अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ ।
बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान भर्न पूरा तयारी गरेको छ । विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्याउन र्याम्प बस राखेको छ ।
यात्रुहरूले जहाज र टर्मिनल भवन आउजाउ गर्न र्याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन काउन्टर नम्बर ३, ४ र ५ तोकिएको छ ।
लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई चेक–इन गर्न बुद्ध एयरले अनुरोध गरेको छ ।
नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुहरू टिकटमा उल्लेख गरिएको समयभन्दा २ घण्टा अगावै विमानस्थल पुगी चेक–इन गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ ।
बुद्ध एयरले पोखरा विमानस्थलबाट काठमाडौं जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लाने विज्ञप्तिमार्फत जनाएको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रीकालीन उडान पनि गर्नेछ ।
अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयर पोखराबाट भारतको वाराणसी पनि उडान भर्नेछ । बुद्ध एयरसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज रहेका छन् । निकट भविष्यमै बुद्ध एयरले थप ३ वटा एटीआर–७२ भित्र्याउन लागेको छ ।