
तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैंसीपालनबाट मनग्य आम्दानी गरेकी छन् ।
‘विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,’ उनले भनिन्, ‘विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।’
बैंकबाट ऋण काढेर भैंसीपालन शुरू गरेका किसान श्रेष्ठले भैंसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताइन् । असिम भैंसीफार्मका सञ्चालक उनले मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएकी छन् ।
उनले ८ रोपनी जग्गा भाडामा लिएर भैंसी पालिरहेकी छन् । प्रतिभैंसी २ लाख ५० हजार रुपैयाँका दरले ६ भैंसी खरिद गरेर व्यवसाय शुरू गरेकी उनले भनिन्, ‘विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय शुरू गर्दा आनन्द आएको छ ।’
आखिर जहाँ गए पनि श्रम गर्नुपर्ने जनाउँदै उनले देशमै केही गरौं भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताइन् । ‘स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैंसीपालनलाई अगाडि बढाएको छु,’ उनले भनिन् ।
उनको भैंसीफार्ममा अहिले १३ वटा भैंसी छन् ।
भैंसीका लागि आवश्यक घाँसका लागि उनले जग्गा भाडामा लिएकी छन् । उनका अनुसार हालसम्म करीब ३० लाख रुपैयाँ लगानी भएको छ । भैंसीफार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ । दूध बिक्रीका लागि बजारको समस्या नरहेको किसान श्रेष्ठ बताउँछिन् ।
‘दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,’ उनी भन्छिन्, ‘स्थानीय थर्पु बजार तथा आसपासमा दूध बिक्री भइरहेको छ ।’ बजार सानो भए पनि दूध बिक्रीका लागि समस्या नहुँदा खुशी लागेको उनले बताइन् ।
मासिक ५० हजार रुपैयाँ बचतले घरपरिवार राम्रोसँग चलेको श्रेष्ठ बताउँछिन् । ‘सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ कमाउँछु, यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ,’ उनले भनिन्, ‘व्यवसायलाई विस्तार गर्ने सोच बनाएको छु ।’