
टाईम फर्मास्युटिकल्स २६ वर्षमा प्रवेश गरेको छ । आठ प्रकारका औषधि उत्पादनबाट शुरु भएको औषधि उद्योगले हाल २५० प्रकारका औषधि उत्पादन गर्न सफल भएको बताएको छ ।
फर्मास्युटिकल्सका प्रमुख जीनारायणबहादुर क्षेत्रीले आफूले १० वर्षे औषधि बजारीकरणको अनुभव बटुलेर उद्योग स्थापना गरेको जानकारी दिए । उनले टाईम फर्मास्युटिकल्स देशका उत्कृष्ट १० उद्योगभित्र पर्न सफल भएको दावी गरे । उद्योगले शुरुमा साईनेक्स, हाईमोक्स, प्याराफ्लामजस्ता औषधि उत्पादन गरे पनि हाल मुटु, मधुमेह, एन्टीबायोटिक्स, मनोरोग, जनरल मेडिसिनजस्ता औषधि उत्पादन गर्दैआएको छ ।
मल्हम, ट्याबलेट, क्याप्सुल, झोल, कान र आँखाका ड्रप समेत कम्पनीले उत्पादन गरेको छ । क्षेत्रीका अनुसार कम्पनीले खोप बाहेकका सबै औषधि उत्पादन गरिरहेको छ । रुघाखोकीको साइनेक्स, दुखाई कम गर्ने प्याराफ्लाम, एन्टीबायोटिक्स हाइमोक्स, एजेटटी, मुटुको लोडिप, भिटामिन बी कम्प्लेक्सजस्ता औषधि उत्पादन हुँदैआएको उनले बताए ।
कम्पनीले उत्पादन गरेको साइनेक्स मात्रै वार्षिक १८ करोडभन्दा बढीको बिक्री हुनेगरेको उनले बताए । एक करोड १० लाखको लागतमा शुरु भएको उद्योगमा हाल ५० करोडभन्दा बढीको लगानी भइसकेको उनले बताए ।
शुरुका वर्ष ८० लाख रुपियाँको कारोबार गरेको कम्पनीले हाल वार्षिक एक अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्दैआएको छ । छ महिनाभित्रमा चीन र अफ्रिकामा औषधि निर्यातको तयारीमा कम्पनी र हेको उनले जानकारी दिए । खोपसहित नयाँ औषधि उत्पादन गर्ने योजनामा कम्पनी लागेको क्षेत्रीको भनाइ छ ।