
काठमाडौं, ३२ साउन — अक्षय कुमारको नयाँ फिल्म ट्वाइलेट एक प्रेमकथाले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । रमाइलो कुरा त यसपाली अक्षय कुमारले द कपिल शर्मा शोमा फिल्म प्रमोसन गरेनन् जबकि उनी हरेक फिल्म रिलिज हुने बेलामा त्यहाँ पुग्थे ।

अक्षय सारेगामापा लिटिल च्याम्प्सदेखि लिएर ये रिश्ता क्या कहलाता है सम्म पुगे तर कपिलको शोमा पुगेनन् ।
यसअघि सलमान खानले पनि ट्युबलाइटको प्रमोसन गर्नका लागि कपिललाई भाउ दिएनन् ।
पछिल्ला केही महिनामा ठूला स्टारहरू कपिलको शोको सेटमा शूटिङ नगरिकनै फर्कन बाध्य भएका थिए । शाहरुख खान जब ह्यारी मेट सेजलको प्रमोसनका लागि त्यहाँ पुगेका भएपनि कपिलको स्वास्थ्य बिग्रिएपछि रित्तै हात फर्किए ।
कपिलको नकारात्मक छविका कारण सुपरस्टारहरू उनको शोमा आउन हिचकिचाउन थालेका छन् । त्यसमाथि शोको टीआरपी लगातार ओरालो लागेको छ ।
उनको शो टप २० को अन्तिम स्थानमा छ । फ्लप शोमा गएर किन प्रमोसन गरिरहनु भनेर बलिउड स्टारहरू तर्केका हुन सक्छन् ।
एजेन्सी