२३ जेठ २०८३, शनिबार

हाइमास्ट र सडक बत्तिले पोखरा शहर झिलिमिली

हाइमास्ट र सडक बत्तिले पोखरा शहर झिलिमिली

नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन शुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकहरूमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिली बनाउने काम भइरहेको छ । 

पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरूमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म ८ वटा हाइमास्ट लाइट जडान गरिएको छ । 

महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार ६ सय २४ वटा सडक बत्ति जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त  ९० वाटका एक हजार एक सय चार वटा र १२० वाटका पाँच सय २० वटा स्मार्ट बत्ति जडान गरिने छ । अहिलेसम्म एक सय ७१ वटा बत्ति जडान गरिएको छ । सडक बत्ति जडान कार्य आगामी फागुनभित्र सकिने छ । 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधवार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाइमास्ट र सडक बत्तिको संयुक्त रूपमा उद्घाटन गरेका थिए । रिमोटमार्फत बिरौटा, लेकसाइडलगायत ठाउँका राखिएका हाइमास्ट र सडक बत्ति बालिएको थियो । 

कम विद्युत् खपत गर्ने, तर उज्यालो बढी दिने बत्ति जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तिको महसुल तिर्ने व्यवस्था गरिएको छ । 

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि २७ वटा फिडर प्यानल जडान गरिने छ । त्यसमध्ये तीन वटा जडान गरिएको छ । सडक वत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । 

स्मार्ट बत्ति प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ति बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ति बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । 

प्राधिकरणले उज्यालो शहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट शहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । 

salt training

कमेन्ट गर्नुहोस्