मकवानपुरमा बसोबास गर्ने गुरुङ समुदायले बिशेष पर्वको रुपमा तमू ल्होछार (नयाँ बर्ष) सामुहिक रुपमा मनाएका छन् । शुक्रबार हेटौंडा ११ स्थित शहिद स्मारकमा शुभकामना आदनप्रदानसँगै नाचगान गरेर ल्होछार मनाएका हुन् ।
तमु ह्युल छोंज धि (गुरुङ्ग राष्ट्रिय परिषद्) मकवानपुरले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले तमू ल्होछारसहित जनजातिको बिशेष पर्वहरुको संरक्षण र प्रवर्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने माग गरे ।
गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जंगबहादुर गुरुङ्गले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक विदा दिनु सकारात्मक भए पनि मौलिक संस्कृति संरक्षण गर्न सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए ।
‘तमू ल्होछार नेपालकै मौलिक पर्व हो, तर तीन तहको सरकार भएर पनि खासै ध्यान दिएको छैन’ उनले भने, ‘आर्थिक सहयोग गरेर ल्होछारलाई साँस्कृतिक उत्सवको रुपमा मनाउन ध्यान दिनुपर्छ ।’ नेपाल आदिवासी जनजाति महासंघका मकवानपुर अध्यक्ष समेत रहेका उनले आफ्नो भाषा, संस्कृतिसँगै ल्होछारजस्ता पर्वको मौलिकता जोगाउन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला आएको बताए ।
गुरुङ्ग राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष अमिर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, थारु कल्याणकारिणी सभा मकवानपुरका जिल्ला सभापति हरिलाल चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय सचिव भैरबबहादुर कुमाल, भुजेल समाज सेवा समितिका केन्द्रीय कोषाध्यक्ष भीम भुजेल, दनुवार जागरण सेवा समिति मकवानपुरका सचिव कृष्णबहादुर राई दनुवार, सेनानी मेजर विमल गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, गुरुङ्ग राष्ट्रिय परिषद् मकवानपुरका संरक्षक पुष्पबहादुर गुरुङ लगायतको सहभागिता थियो ।
कार्यक्रममा गुरुङ्ग पहिरनमा सजिएका गुरुङ्ग युवायुवती, बालबालिकाहरुले गुरुङ्ग साँस्कृतिक नाच, गान प्रस्तुत गरेका थिए । मकवानपुरमा वि.सं. २०५५ सालदेखि गुरुङ समुदायले सामुहिक रुपमा तमू ल्होछार मनाउँदै आएका छन् ।