
पतञ्जलि योग सूत्रको नेपाली अनुवादको पुस्तक प्रकाशनमा आएको छ । कमलप्रसाद ढुंगानाद्वारा अनुवादित पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।
पुस्तकमा योग सूत्रको शाब्दिक अनुवाद र त्यसको व्याख्या गर्ने प्रयास गरेका छन् अनुवादकले । महामुनि पतञ्जलिद्वारा लिखित योग सूत्र योग दर्शनको नामले परिचित छ, जुन षड्दर्शन मध्येको एक मानिन्छ ।
यसबाहेक षड्दर्शनमा न्याय सूत्र, वैशेषिक सूत्र, साङ्ख्या सूत्र, जैमिनि सूत्र (पूर्वमीमांसा) र वेदान्त सूत्र (उत्तर मीमांसा) पर्छन् । यिनका लेखक क्रमशः महर्षि गौतम, कणाद, कपिल, जैमिनि र वादरायण हुन् ।
योग सूत्रमा ४ पाद (खण्ड) र १९५ सूत्र छन् । यीमध्ये पहिलो समाधि पादमा ५१, दोस्रो साधन पादमा ५५, तेस्रो विभूति पादमा ५५ र चौथो कैवल्य पादमा ३४ सूत्र छन् । ग्रन्थले शुरूमै चित्तवृत्ति निरोधको प्रसङ्ग उठाएकोे छ ।
प्रथम ‘अथ योगानुशासन’को लगत्तै ‘योगश्चित्तवृत्तिनिरोधः’ सूत्र आउनुलाई यसैभित्र लिन सकिन्छ । चित्तको वृत्ति अनन्त छन्, हुन्छन् । नदीको छाल र समुद्रको तरंगजस्तो एउटा जान भ्याएको हुन्न अर्को आइसकेको हुन्छ, जसले मनमा भ्रम सिर्जना गरी सही तथा गलत छुट्याउन मुस्किल बनाइदिन्छ र अन्ततः यहीँबाट दुःखको संसार खडा हुन पुग्छ ।
प्रायः हामी संसारमा दुःख छ वा संसारले दुःख दियो, दिन्छ भन्ने गर्छाैं तर दुःखको कारण संसार होइन, यही चित्तवृत्ति नै हो । जबसम्म चित्त चलिरहन्छ, तबसम्म संसार पनि चलिरहेको हुन्छ । अनि जबसम्म संसार चलिरहन्छ तबसम्म दुःखको शृंखला पनि चली नै रहेको हुन्छ ।
संसार आफैंमा केही पनि होइन । ऊ हमेशा निरपेक्ष छ, निरपेक्ष नै रहन्छ । यसमा न सुख छ, न दुःख नै । आगोले चलाउन जान्दा फाइदा र नजान्दा हानि गरे जस्तै संसारलाई पनि खेलाउन जान्दा सुख र नजान्दा दुःख पाइन्छ । योग सूत्रले यही सांसारिक रंगमञ्चको खेलाडी बनेर रहेको चित्तका वृत्तिलाई निरोध गर्नुपर्ने सन्देश दिएको छ ।
चित्तको वृत्ति निरोध हुनासाथ संसारको गति रोकिन्छ । यसबाट जीवलाई ब्रह्मतर्पm उन्मुख हुन सजिलो पर्छ । ब्रह्म भन्नु नै के हो र ? आफैंभित्रको विराट पुरुष र उसको शक्ति तथा सामथ्र्य नै हो । यस सूत्रले त्यसैलाई चिनाउन खोजेको छ, देखाउन खोजेको छ । यस अनुसार योग सूत्रको आशय यो एउटै सूत्रमा समेटिएको देखिन्छ । बाँकी सूत्रहरूले चित्त भनेको के हो ? त्यसको वृत्ति कस्ता छन् ? कति छन् ? कसरी उत्पन्न हुन्छन् ? तिनलाई निरोध गर्ने साधन के–के हुन् ? निरोध गरेपछि कस्तो अवस्थामा पुगिन्छ र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने देखाउने काम गरेको छ ।
योग अनेकार्थवाची शब्द हो । सोझो अर्थ त यही हो – जसले जीवात्मालाई परामात्मसँग जोड्ने तरिका सिकाएको छ तर यतिमा मात्र सीमित छैन । जो जुन क्षेत्रमा लागेका छन्, उनीहरूलाई त्यसै क्षेत्रसँग जोड्नु पनि योग नै हो । यस अर्थमा योग सूत्रले मुक्ति चाहनेका लागि ईश्वरमा मिलाउने र भुक्ति चाहनेका लागि कर्मकुशलता दिलाउने प्रयास गरेको छ भन्नु मनासिव हुनेछ ।
मानिसका उद्देश्य ४ किसिमका हुन्छन्, जसमा धर्म, अर्थ, काम र मोक्ष पर्छन् । मानिस यिनै उद्देश्य पूरा गर्नका लागि आएको हो । योग सूत्रले सोही उद्देश्य पूरा गर्ने तरिका सिकाउने भएकाले यसको महत्त्व हिजो जति थियो, आज पनि त्योभन्दा कम नरेको आफैं प्रस्ट हुन्छ ।
यस्तो महत्त्वपूर्ण ग्रन्थ अनुवाद गरेर अनुवादकले समाजलाई जुन किसिमको गुन लगाएका छन्, त्यसलाई प्रकाशित गरेर प्रकाशकले पनि उत्तिकै महत्त्वपूर्ण काम गरेका छन् । यस अर्थमा अनुवादक र प्रकाशक दुवै धन्यवादका पात्र भएका छन् ।
सामान्य प्रूफ मिस्टेकबाहेक अशुद्धि खासै छैन । १२६ पृष्ठको पुस्तकको मूल्य २७५ राखिनुलाई समय अनुसार महंगो भन्न मिल्ने अवस्था पनि छैन ।